आइइसी डिजाइनर रनवेमा आधा दर्जन सेलिब्रिटी

बिहीबार, चैत १५, २०८०

काठमाडौं । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा आगामी शुक्रबार काठमाडौंको होटल याक एण्ड यतीमा १३ औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो हुने भएको छ । यो फेसन शोमा झण्डै आधा दर्जन सेलिब्रिटीले र्‍याम्प नाप्नेछन् ।
शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मी श्रेष्ठ, मलिना जोशी, प्रियंका रानी जोशी, आँचल शर्मा, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सबिता कार्की, जेड दीपिका गारेटलगायतले र्‍याम्प नाप्न लागेका हुन् । शोमा उनीहरु ‘शो टपरका रुप’मा विभिन्न आकर्षक पहिरनसहित र्‍याम्पमा प्रस्तुत हुने आयोजकले जनाएका छन् ।
शोमा भारत, रुस, सर्भियालगायत विभिन्न मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहनेछ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरु प्रस्तुत गर्ने तालिका छ ।
अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको पनि सहभागिता रहने शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले हेरेको छ । नेक्स्ट मोडल नेपालका सीइओ रवि धमलाले अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइइसी डिजाइनर रनवे’लाई प्रस्तुत गर्न लागेको बताए ।
शोमा आइइसी कलेजका २०२१ ब्याचका ७३ विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछ । कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनु शोको उद्देश्य रहेको बताइन् ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार