ऊर्जामन्त्री बस्नेत भन्छन्, ‘संस्कृत भाषा संरक्षणमा गम्भीर हुनुपर्छ’

बिहीबार, चैत १५, २०८०

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसारका विभिन्न मुलुकले संस्कृत भाषाको माध्यमबाट अनेक प्रयोग गरिरहेको सन्दर्भमा नेपाली पछि पर्न नहुने बताएका छन् ।   
काठमाडौंमा आयोजित नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संस्कृत भाषाको पठनपाठनमा सरकार उदासीन रहेका बेला उनले भने यो परम्परागत ज्ञान विज्ञानका क्षेत्रसम्म पुग्ने एउटा महत्वपूर्ण माध्यम रहेको बताए । संस्कृत भाषाको संरक्षण गरेर अनुसन्धानमा अघि नबढ्दा पछि परिने भनाइ उनले राखे ।  
उनले भने, ‘संस्कृत भाषा ज्ञान विज्ञानका क्षेत्रहरुमा पुग्ने एउटा महत्वपूर्ण माध्यम हो । परम्परागत ज्ञान विज्ञानको प्राथमिक स्रोतहरुमा पुग्ने महत्वपूर्ण माध्यमको रुपमा संस्कृत भाषा रहेको छ, यो साँचो कुरा हो । यसलाई एउटा महत्वपूर्ण स्रोतको रुपमा विश्व समुदायले उपयोग पनि गरिरहेको छ । फेरि यो किन सीमित भयो । यही क्षेत्रमा सीमित हुन किन पुग्यो ?’
उनले संस्कृत भाषाका माध्यमबाट ज्ञान विज्ञानमाथिको पहुँच सहज बनाइ आधुनिक विज्ञानसँग संयोजित गर्न सके धेरै फाइदा रहेको उल्लेख गरे ।  
उनले भने,‘हामीले त्यो परम्परागत ज्ञान विज्ञानमाथिको पहुँच त राम्रोसँग स्थापित गर्न सक्छौं । जो आज पनि जे कुरा महत्वका छन् ती माथि पहुँचलाई सहज बनाउन सक्छौं । त्यसलाई आधुनिक विज्ञानसँग संयोजित गर्दै हाम्रो समग्र क्षेत्रलाई अझ प्रचलित बनाएर अगाडि बढ्न सक्छौं ।’
मन्त्री बस्नेतले संस्कृत भाषाको रक्षा र प्रवद्र्धनलाई सरकारले गम्भीरतापूर्वक लिएको दाबी गरे । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार