पुनर्निर्माणका लागि ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर मन्दिरमा क्षमा पूजा 

बुधबार, मंसिर १०, २०८२

सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ नं. वडामा रहेको श्री भृङ्गारेश्वर महादेव मन्दिर पुनर्निमाणका लागि मंगलबार मन्दिर परिसरमा क्षमा पूजासहित सवालाख दीप प्रज्जवलन गरिएको छ । श्री भृङ्गारेश्वर महादेव मन्दिर सुधार तथा बृद्ध सेवा समितिद्वारा आयोजित संक्षिप्त समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्षमा पूजासहित सवालाख दीप प्रजज्वलन गरी कार्यक्रम सुरुवात गरे । समितिका अनुसार भृङ्गारेश्वर महादेव मन्दिर पुनः निर्माणका लागि शिलान्यास मंसिर १८ गते पूर्णिमाका दिन गरिनेछ । क्षमा पूजाका अवसरमा मन्तव्य राख्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुरातात्त्विक महत्त्वको यो मन्दिर बनाउन कुनै कमी हुँदैन भन्दै तदारुकताका साथ काम अगाडि बढाउन आग्रह गरे ।  ‘यो मन्दिर निर्माणमा समय लाग्छ, धैर्यता कायम राखेर कुनै कमजोरी नहुने गरी काम गर्नुस्, ललितपुर महानगरपालिकाले बालकुमारी मन्दिर, पाटन दरवारको देगु तलेजु र भीमसेन मन्दिरलगायतका मन्दिरहरूको पुरातात्त्विक महत्त्व र गुणस्तरमा कुनै सम्झौता नगरी निर्माण सम्पन्न गरेका छ, यो मन्दिर पनि कुनै कमी नहुने गरी निर्माण गर्न चाहान्छौं’, उनले भने । 
प्रमुख महर्जनले वि.सं. २०७२ सालको भूकम्पले भत्काएका ललितपुर महानगर भित्रका अधिकाँश मन्दिर पुनःनिर्माण भैसकेको जानकारी दिँदै भने, ‘ललितपुर महानगरले पुरातात्त्विक महत्त्वका मठमन्दिर, शिवालय, देवालय पुनःनिर्माण गर्दा कुनै पनि ठेक्कामा नलगाउने निर्णय गरेर उपभोक्ता समितिमार्फत काम गर्दै गुणस्तरीयता कायम राखेको छ ।’ क्षमा पूजा समारोहमा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सुनाकोठीबासीको आस्थाको केन्द्र यो मन्दिर पुनःनिर्माणको लागि सुरु हुनु खुसीको कुरा भएको भन्दै पुरातात्त्विक महत्वको यो मन्दिरलाई जीवन्त राखेर सांस्कृतिक पक्षलाई नयाँ ढंगले संरक्षण गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिइन् । उनले सुनाकोठीलाई धार्मिक र सांस्कृतिक पर्यटनको केन्द्र बनाउनका लागि यो मन्दिरको पनि महत्त्वपूर्ण भूमिका हुने विस्वास व्यक्त गरिन् ।  वि.सं. २०७२ को भूकम्पले क्षति पुर्‍याएको यो मन्दिर लिच्छविकालीन इतिहास बोकेको ऐतिहासिक स्थल हो । भृङ्गारेश्वर मन्दिरमा भएको शिलालेख अनुसार ईस्वी संवत् ५ ओैं शताब्दीका राजा मानदेवको नामबाट निर्मित मानगृह राजाप्रसाद (दरबार) र राजा शिवदेवको शिलालेखमा कैलाशकुट भवनको बारेमा उल्लेख छ । 
प्राचीनकालमा निर्मित भृङ्गारेश्वर मन्दिर वि.सं. १९९० को भूकम्पले भत्काएपछि गुम्बज शैलीमा निर्माण गरिएको हो । गुम्बज शैलीमा निर्माण भएको मन्दिरलाई महानगरपालिकाको सहयोगमा प्यागोडा शैलीमा पुनः निर्माण गर्न लागिएको हो । मन्दिर पुनर्निर्माणका लागि महानगरपालिकाले डिपिआर तयार पारिसकेको छ । मन्दिरको लागि आवश्यक काठ पनि खरिद गरी आवश्यता अनुसारका सामग्री निर्माण भइरहेका छन् । भृङ्गारेश्वर शिवलिङ्गलाई स्वयम्भू सिद्धज्योतिलिङ्गमध्ये एक मानिन्छ । यसलाई मानव निर्मित नभई आफैं उत्पन्न भएको ज्योर्तिलिङ्गका रूपमा पुजिन्छ । भृङ्गारेश्वर महादेवको दर्शन तथा पूजापाठ गर्नाले पूर्वजन्मको पापबाट मुक्ति मिल्छ भन्ने जनविश्वास छ । गोपालराज वंशावली अनुसार भृङ्गारेश्वर शिवलिंग पशुपतिनाथभन्दा पहिले उत्पत्ति भएको हो । सो वंशावलीमा नेपाल मण्डलको चर्चा गर्दै पहिले भृङ्गारेश्वर महादेव प्रार्दुभाव भएको लेखिएको छ, त्यसपछि मात्र ‘नेप’ नाउँका गोपाल राजा भए र ती नेप गोपालले पशुपतिनाथको प्रतिष्ठा गरेका थिए भन्ने किम्बदन्ती रहेको छ। इतिहासकार प्रा. मोहनप्रसाद खनालले  यसलाई पुष्टि गरेका छन् । गोपालहरूले त्यहां गाई चराउन जाँदा प्रत्येक दिन भमराको झुन्ड देखेर आश्चर्य मान्नेर खोजी गर्दा शिवलिङ्ग फेला पर्‍यो । त्यो शिवलिङ्गलाई भमराले संरक्षण गरेको हुँनाले  त्यसलाई भृङ्गारेश्वर भनि नाम राखिएको किम्बदन्ती छ। 
भृङ्गारेश्वरको शिवलिंग पशुपतिनाथको जस्तो चतुर्मुख छैन । कमलको फूलको बनावट सुन्दर छ, त्यो कलात्मक पनि छ । चारपाटे शैलीमा जलहरी छ । इतिहासकार खनालका अनुसार, स्कन्द पुराण हिमवत् खण्डको १३४ औं अध्यायमा भृङ्गारेश्वरको शिवलिङ्ग र जलहरी दुवै ब्राह्मण सम्प्रदायको भएको उल्लेख छ । मन्दिरको पूर्वपट्टि गणेश मन्दिर, दक्षिणमा पुजारी घर, कीर्तिमुख भैरव, दक्षिण–पश्चिम कुनामा जगन्नाथ मन्दिर, पश्चिममा दुई वटा सिंह, विशाल नन्दी र एउटै ढुंगाबाट निर्मित १२ फिट अग्लो त्रिशूल र धर्मशाला रहेको छ । उत्तरपूर्वी कुनामा पोखरीमा शेष नागको जिउमा सुतेका विष्णुनारायणको मूर्ति र ३२ हात गहिरो इनार समेत छ ।
अहिले पुनर्निर्माण क्रममा भृङ्गारेश्वर मन्दिर प्यागोडा शैलीमा दुईतले बनाउने, भजनकीर्तन, धार्मिक प्रवचन, पुस्तकालय कक्ष पनि निर्माण गरिने योजना छ । अभिलेख अनुसार यो मन्दिर वि.सं. १६१० मा ललितपुरका राजा विष्णुसिंहले जीर्णोद्धार गरेका थिए । भृङ्गारेश्वर मन्दिरमा हरेक वर्ष मेला लाग्छ । यस स्थानलाई सुवर्णपुर पनि भनिने भृङ्गारेश्वर महादेव मन्दिरका पुजारी रवीन्द्र भट्टले जानकारी दिए । उनी भन्छन्, ‘यही क्षेत्रमा भृगु ऋषिले तपस्या गरेको हुनाले पनि यसलाई भृङ्गारेश्वर महादेव भनिएको अर्को थरिको भनाई  छ । भृङ्गारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समिति सुनाकोठीका अध्यक्ष रामचन्द्र महर्जन भन्छन्, ‘मन्दिर पुनर्निर्माण गर्न करिब १२ करोड रुपैयाँ लाग्ने देखिएको छ । ३ देखि ४ वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । 
ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेव मन्दिरलाई पहिलेकै स्वरुपमा पुनः निर्माण गरेर मन्दिर परिसरमा रहेका अन्य मन्दिरलाई थप व्यवस्थित बनाउने गरी काम गरिने समितिका उपाध्यक्ष  वेली डंगोलले बताइन् । उनका अनुसार भृङ्गारेश्वर महादेवको मन्दिर परिसरमा बालकुमारी त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, गणेश मन्दिर र भृङ्गारेश्वर महादेवको भजन गर्ने धर्मशाला लगायतका ऐतिहासिक सम्पदा रहेका छन् ।
 क्षमा पूजाका तथा सवा लाख दीप प्रज्जवलनका लागि आयोजित समारोहमा ललितपुर महानगरपालिका २६ नं. वडाका वडाअध्यक्ष सुरेश महर्जन, २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जन, बागमती प्रदेशमा पूर्व सांसदद्धय राजकाजी महर्जन र दीपेश महर्जन, प्रहरी वृतका चापागाउँका प्रमुख, गुठीका कजि तथा गुरुहरू, महानगर २७ नं. वडाका निवर्तमान वडाअध्यक्ष बाबुराज महर्जन, राजनीतिक दलका नेताहरू, ज्येष्ठ नागरिक, महिलासहित स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार