सोसल मिडिया
Contact Us
युनिकोड
घटस्थापना गरिएन जमरा राखिएन पिङ हालिएन दुर्गा थापिएन खडेरीले खाएको धान झुल्दा पनि झुलेन सयपत्री फूलेन मखमली फूलेन चराको चिरविर सुनिदैन गाउँमा सन्नाटा छाएको छ घाम हाँसेन जून हाँसेन ताराहरु रोइरहे गोधुली साँझ खसेन ।
दसैं शोकले भरिएर आएको छ रोगले ग्रसित भएर आएको छ भोकले थलिएर आएको छ कथित औपचारिकता पूरा गर्दै शुभकामना नदिए हुन्छ मान्छे भित्रको मान्छे पीडाले रोई रहेको छ ।
देश बलिरहेको छ खरानीको टीका लाउने या नलाउने ? नानीहरु मारिएका छन सडक रगतले पोतिएको छ बा आमा रोई बसेका छन शोक मनाउने बेलामा भो, दसैंको कुरा नगर ।
टीका थाप्नेहरु कोही नभए पछि जमरा कानमा सिउरिएर पिङ खेल्नेहरु कोही नभए पछि वृद्ध आमाको मन भाँच्चिएको छ रोएर बस्छिन पिँडीमा
रोकिदैन आँसु आगे साल बाँचिन्छ कि मरिन्छ ? मनको बह कस्लाई पोख्ने ? छोरा छोरी नै साथमा नभए पछि ।
दसैंले खुशी दिन सकेन दुःख बेसाएर गयो बुढी आमा बाटो हेरी बस्छिन आँखा टट्टाएर गयो छोरा छोरी नफर्के पछि मालसिरी धुन बजेन तन्नेरीहरु गाउँमा छैनन पिङ हालेर हाक्पारे गाउने कोही भएन ।
नबजाउ दसैं घरका घण्टहरु तिम्रो दुर्गे मस्त निन्द्रामा छे तिमी अकालमा मर्दैछौ तिम्रो काल टरेको छैन तिमी माथि अन्याय थोपर्दा पनि तिम्रो दुर्गे मुकदर्शक छे जेन्जीहरु फर्केका छैनन घाइतेहरुको चित्कार उस्तै छ बरखी बारेर समय झोक्राइ रहेको छ यसपालिको दसैं मान्दैनौ भनी मानिसहरु सडकमा निस्किएका छन अतृप्त जुलुसको नेतृत्व गरेर ।
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ ९८४२०७३५२५ kpchandra2023@gmail.com