सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलको पहिचानको रुपमा रहेको धार्मिक पर्यटकीय प्राकृतिक दह नागदहले अब नयाँ रुप पाउने भएको छ । नागदह सौन्दर्यकरणका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले संरचना निर्माणका लागि आह्वान गरेको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेकै बेला नागदह सौन्दर्यका लागि सहयोग गरेको अन्तराष्ट्रिय दातृ निकायका प्रतिनिधि, काठमाडौं उपत्यका नगर विकास समितिका पदधिकारी तथा प्राविधिकहरूको एउटा टोलीले आज बिहीबार वडा कार्यालयमा छलफल गर्नुका साथै नागदहको स्थलगत अवलोकन गरेको छ । वडा कार्यालय तीनकुने पोखरीमा भएको छलफलमा वडाअध्यक्ष दिनेश जंग पाण्डेले नागदह परियोजनासहित वडा कार्यालयका तर्फबाट भए गरेका कार्यहरूका बारेमा दातृ निकायका प्रतिनिधिसहित केभिडिएका पदाधिकारीलाई विस्तृत जानकारी गराएका थिए । दातृ निकायका प्रतिनिधिहरूले आफूले सहयोग गर्न लागेको परियोजनाका बारेमा विस्तृतमा जानकारी लिन यहाँ आएको बताएका थिए । दातृ निकायका प्रतिनिधिसहित केभिडिएका पदाधिकारीसँगको छलफलमा वडाअध्यक्ष पाण्डे, वडासदस्यहरू इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण महर्जन, वडासचिव उदयसन नापित, वडा सल्लाहकार पुरुषोत्तम पौडेलको उपस्थिति रहेको थियो । छलफलमा नागदहप्रति सरोकार राख्ने स्थानीय बासिन्दा, नेपाल सरकारका पूर्वसचिव, समाजसेवी, पार्टी प्रतिनिधि, महिला समूहका पदाधिकारी, युवा वर्गको उपस्थिति रहेको थियो । नागदहको स्थलगत अवलोकपछि शब्दपाटीसँग कुराकानी गर्दै ललितपुर महानगरपालिका वडा नम्बर २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेले लामो प्रयासपछि काठमाडौं उपत्यका नगर विकास समितिमार्फत नागदहको विकास परियोजना यूएनडीपीको सहयोगमा टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले परियोजना प्रक्रिया अन्तिम चरणमा पुगिसकेको हुनाले वैदेशिक दातृ राष्ट्रका प्रतिनिधि र उपत्यका नगर विकास समितिका प्रतिनिधि र प्राविधिक टोलीसहितको अन्तिम साइट भिजिट गरिएको बताए । उनले केही दिनभित्रमा यसले अन्तिम रुप पाउने बताए । यस्तै, उनले परियोजनाबाट नागदहमा रहेको फोहोरहरू सबै हटाउने, फुटपाथ व्यवस्थित गर्ने, भत्केका पर्खालहरू पुनःनिर्माण गर्ने र दहमा नुहाउन वा लुगा धुन प्रतिबन्ध लगाउँदै त्यसका लागि छुट्टै स्थलको निर्माण गरिने जानकारी दिए । परियोजनाको अवधि दुई वर्ष रहेको उनको भनाई छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियर सौरभ ढकालले नागदह सौन्दर्यकरणको परियोजना कार्यान्वयनमा चरणको पुगिसकेको जानकारी दिँदै फुटपाथ व्यवस्थापनसहितका कार्य गरिने बताए ।