सोसल मिडिया
Contact Us
युनिकोड
नेपालमा धेरै बिरामीहरू लक्षण सुरु हुँदासाथ उपचार खोज्दैनन् । कामको चाप, आर्थिक अभाव, समयको कमी वा ‘सामान्य ग्यास्ट्रिक हो’ भन्ने बुझाइका कारणले अस्पताल ढिला पुग्छन् । परिणामस्वरूप एडभान्स स्टेजमा पुगेपछि मात्र रोग पत्ता लाग्ने, उपचार महँगो हुने र उपचारमा सफलता पाउने संभावना कम हुन्छ । डा.सिताराम चौधरी पेट तथा पाचन प्रणाली विशेषज्ञ
‘ग्यास्ट्रिक’ शब्दको भ्रम नेपालमा साधारण पेट पोल्ने, अपच हुने, डकार आउने, घाँटी पोल्ने वा खाना नलीमा जलन हुने जस्ता सामान्य समस्यालाई प्रायः मानिसहरूले ‘ग्यास्ट्रिक’ भनी बुझ्ने गर्छन् । तर यिनै लक्षणहरू कहिलेकाहीँ गम्भीर र भित्री रोगहरूको संकेत पनि हुन सक्छन् । यसैले सामान्य ग्यास्ट्रिक र जटिल रोग छुट्याउने क्षमता प्रत्येक व्यक्तिमा महत्वपूर्ण छ । धेरैजसो अवस्थामा यो सामान्य एसिडको समस्या मात्र हुन सक्छ, तर कतिपय अवस्थामा खाना नली, पेट, प्यान्क्रियाज, पित्तथैली, लिभर वा आन्द्रामा क्यान्सरजस्ता रोगहरू लुकेका हुन सक्छन् ।
सामान्य ग्यास्ट्रिक र अपचका लक्षणहरू पेट र घाँटी पोल्ने, खाना निल्न गाह्रो हुने, डकार आउने, पेट फुल्ने, हल्का डायरिया वा कब्जियत देखिने जस्ता लक्षणहरू सामान्य ग्यास्ट्राइटिस वा अपचका संकेत हुन् । यस्ता अवस्थामा साधारण एन्टासिड, पीपीआई वा खानपानको नियमितताले समस्या ठीक हुन्छ । तर यिनै लक्षणहरू बारम्बार दोहोरिन थाल्दा, औषधिले काम नगर्दा वा लक्षण बढ्दै जाँदा भित्री रोगको शंका गर्न जरुरी हुन्छ ।
जसले गम्भीर रोगको सङ्केत दिन्छन् खाना रुचि घट्दै जानु, तौल क्रमशः झर्दै जानु, खाना निल्न झन् कठिन हुँदै जानु, पेटको दुखाइ राति–राति बढ्नु, मल वा बान्तामा रगत देखिनु तथा लगातार उल्टी हुनुजस्ता लक्षणहरू सामान्य ग्यास्ट्रिक मात्र हो भन्ने ग्यारेन्टी हुँदैन । यी परिवर्तनहरूले कहिलेकाहीँ अल्सर, पेटको क्यान्सर, आन्द्राको टीबी, प्यान्क्रियासको बिमारी, पित्तनली अवरुद्ध भएको अवस्था वा अन्य जटिल रोगहरू संकेत गर्न सक्छन् ।
ग्यास्ट्रिक जस्तो तर गम्भीर रोगहरूको पृष्ठभूमि नेपाली बिरामीहरूमा ‘ग्यास्ट्रिक भयो’ भनेर आउने धेरै केसहरूमध्ये केही प्रतिशतमा वास्तवमा भित्री गम्भीर रोग भेटिन्छ । खाना नलीको क्यान्सर वा इरोजिभ रोगबाट लिएर पेटको अल्सर, अन्य संक्रमण, प्यान्क्रियाजको सुन्निने समस्या, पित्तथैलीको क्यान्सर, पित्तनलीमा ढुंगा, आन्द्राको टीबी, अल्सेरेटिभ कोलाइटिस, क्रोन्स रोग तथा कोलन क्यान्सर जस्ता समस्याहरू प्रायः प्रारम्भिक चरणमा सामान्य ग्यास्ट्रिककै लक्षणबाट सुरु हुन्छन् । यही कारणले आम मानिसले सामान्य र अप्ठ्यारो—दुवैलाई ‘ग्यास्ट्रिक’ भन्ने भएकाले वास्तविक रोग ढिलो पहिचान हुने जोखिम बढ्छ ।
अल्सर, क्यान्सर र पुरानो ग्यास्ट्राइटिसको प्रमुख कारण आजको चिकित्सा विज्ञान अनुसार एच–पाइलोरी नामक ब्याक्टेरियाले पेटभित्र दीर्घकालीन इरोजन, अल्सर, पेटको क्यान्सरलगायत गम्भीर ब्लीडिङ जस्ता समस्या उत्पन्न गर्न सक्छ । यस्तो ब्याक्टेरिया पत्ता लागेपछि यसको दुई हप्ताको एन्टिबायोटिक उपचारले धेरै बिरामीलाई भविष्यका जटिल रोगबाट जोगाउन सक्छ । त्यसैले एच–पाइलोरीे सम्बन्धी जागरूकता, परीक्षणको पहुँच र सही उपचार आज धेरै महत्त्वपूर्ण मानिन्छ ।
जन्डिस छुट्याउन सकिने आधारहरू जन्डिस कहिलेकाहीँ सामान्य भाइरल हेपाटाइटिसका कारण भए दुई–चार हप्तामै पूर्ण रूपमा निको हुन्छ । तर लामो समय टिक्ने, झनै बढ्दै जाने वा अन्य लक्षणसँगै देखापर्ने जन्डिस लिभरको क्यान्सर, हेपाटाइटिस, पित्तथैली र पित्तनलीको क्यान्सर वा पित्तनलीमा ढुंगा अड्किएको कारणले हुनसक्छ । यस्तो अवस्थामा ब्लड टेस्ट, अल्ट्रासाउन्ड, सिटी स्क्यान वा एमआरआईजस्ता परीक्षण अत्यावश्यक हुन्छन् । जडीबुटी वा अनियमित हर्बल औषधिको गलत प्रयोगले पनि लिभर बिग्रने र जन्डिस गम्भीर बन्ने जोखिम रहेकाले सावधानी आवश्यक छ ।
इमर्जेन्सीमा बदलिन सक्ने पेटका रोगहरू प्यान्क्रियाटाइटिस गम्भीर भएर नेक्रोसिस हुने, पित्तथैली फुट्ने, आन्द्रामा प्वाँल पर्ने, ठूलो मात्रामा रगत बग्ने, भेरिसियल ब्लीडिङ हुने जस्ता अवस्थामा घण्टाको ढिलाइले पनि ज्यान जोखिममा पर्न सक्छ । यस्तो अवस्थामा छिटो अस्पताल पुर्याएर एन्डोस्कोपी वा सर्जरीमार्फत उपचार गर्नसके बिरामीलाई बचाउन सकिन्छ । ढिला हुँदा उपचार कठिन हुने मात्र होइन, कहिलेकाहीँ सम्भव पनि नहुने अवस्था आउँछ ।
सामाजिक र आर्थिक चुनौति नेपालमा धेरै बिरामीहरू लक्षण सुरु हुँदासाथ उपचार खोज्दैनन् । कामको चाप, आर्थिक अभाव, समयको कमी वा ‘सामान्य ग्यास्ट्रिक हो’ भन्ने बुझाइका कारणले उनीहरू अस्पताल ढिला पुग्छन् । परिणामस्वरूप रोग एडभान्स स्टेजमा पुगेपछि मात्र पत्ता लाग्ने, उपचार महँगो हुने र सफलताका सम्भावना घट्ने समस्या बारम्बार देखिन्छ । समयमै गरिएको एन्डोस्कोपी, अल्ट्रासाउन्ड वा स्क्यानले धेरै रोगहरू प्रारम्भमै चिन्ह लगाउन सक्छ तर त्यसबारे जनचेतना अझै पर्याप्त छैन ।
खानपान, जीवनशैली र वंशाणुगत जोखिमको भूमिका एसिडिटी, अपच वा सामान्य ग्यास्ट्रिक प्रायः खानपान र जीवनशैलीसँग सम्बन्धित हुन्छ । तर क्यान्सर, अल्सर वा लिभर रोगजस्ता गम्भीर समस्या वंशाणुगत आधार, संक्रमण तथा अन्य भित्री कारणसँग बढी सम्बन्धित हुन्छन् । रक्सीको अत्यधिक सेवन, मसालेदार वा चिल्लो खानाले लक्षण बढाउन सक्छ । तर सँधैं ठूलो रोग निम्त्याउँछ भन्ने होइन । यदी गहिरो रोगकै कारण लक्षण आएको हो भने खानपान मिलाएर मात्र समस्याबाट उम्किन सकिँदैन, उचित परीक्षण र उपचार आवश्यक हुन्छ ।
नेपालमा उपचार सेवाको अवस्था र सम्भावना हालका वर्षहरूमा नेपालभित्र एन्डोस्कोपी, जटिल सर्जरी, प्यान्क्रियाज तथा लिभर सम्बन्धी उपचारको क्षमता उल्लेख्य रूपमा बढेको छ । आज ८०–९० प्रतिशत पेट तथा पाचन प्रणालीका समस्या नेपालमै उपचार गर्न सकिने अवस्था छ । तर अझै केही एडभान्स केसमा विशेषज्ञको कमी, फेलोसिप कार्यक्रमको अभाव र स्रोत–साधनको कमी देखिन्छ । आगामी दशकमा उपचार संरचना अझ मजबुत हुने अपेक्षा राख्न सकिन्छ ।
सतर्कता आवश्यक हल्का एसिडिटी वा अपच सबैलाई कहिलेकाहीँ हुन्छ, तर बारम्बार हुने, औषधिले ठिक नहुने, खानाको रुचि घट्ने, तौल घट्ने वा रगत देखापर्ने लक्षणले गम्भीर रोगको सङ्केत दिन सक्छ । यस्तो अवस्थामा ढिलाइ नगरी एन्डोस्कोपी, ब्लड टेस्ट, अल्ट्रासाउन्ड वा स्क्यानजस्ता परीक्षण गराउनु आवश्यक हुन्छ । जनचेतना, नियमित जाँच र समयमै उपचारले पेटका धेरै गम्भीर रोगबाट जोगिन मद्दत गर्छ । (पेट तथा पाचन प्रणाली विशेषज्ञ डा.सिताराम चौधरीसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)