महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ललितपुर महानगरको छलफल कार्यक्रम 

लैंगिक हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण 

बुधबार, मंसिर १०, २०८२

ललितपुर । ललितपुर महानगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा छलफल कार्यक्रम आयोजना गरेको छ । लैंगिक हिंसा, यसको न्यूनीकरण गर्न जनप्रतिनिधिको भूमिका र बुझाई महत्वपूर्ण हुने धारणा कार्यक्रमका वक्ताहरुले राखेका थिए । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले लैंगिक हिंसाको स्वरुप विभिन्न प्रकारको हुने बताउँदै आफूले आफैलाई गर्ने हिंसा डरलाग्दो भएको बताइन् ।  उनले अरुप्रति व्यक्त  गरिने भाव र भावनाबाट हुने हिंसा र अव्यक्त रुपमा गरिने हिंसा त झन् डरलाग्दो हुने बताइन् । उनले भनिन् ‘यस्तो हिंसा गर्नेलाई कारबाही गर्न समेत सकिदैंन । ’ नकारात्मक कुरा गर्नु, कमेन्ट गर्नु समेत हिंसा भएको बताउँदै पछिल्लो समय सामाजिक संजाल हिंसा गर्ने र हिंसा निमत्याउने सजिलो माध्यम भएको उपप्रमुख मञ्जली शाक्यले बताइन् ।प्रत्येक वर्ष डिसेम्बर २५ देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय रुपमा नै  महिला हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिन्छ । पर्यटन, संस्कृति समितिका संयोजक एवम् ललितपुर महानगर वडा नंं.५ का अध्यक्ष विकासमान श्रेष्ठले हिंसा गर्नु र हिंसा सहनु अपराध जस्तै भएको बताए । वडामा विभिन्न प्रकारका हिंसा भोगेकाहरु न्याय र समस्या समाधानका लागि आउने भएकाले जनप्र्रतिनिधिका लागि राखिएको यो छलफल निकै सान्दर्भिक र महत्वपूर्ण भएको प्रष्ट पारे ।  कार्यपालिका सदस्य एवम् वडा नंं. ९का सदस्य सानु अवालले हिंसा न्यूनीकरण गर्न लागि सरकारको प्रतिबद्धता, पहल र नीति नियमको कार्यान्वयन मात्रै पर्याप्त नभएको बताउँदै समाजका सबै तह र तप्काको सहयोग अपरिहार्य हुने बताइन् । उनले भनिन् , ‘हिंसा न्यूनीकरणको लागि परिवार, प्रहरी लगायत सबैको भूमिका महत्वपूर्ण हुन्छ ।’  कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता डा. पुष्पराज बाँस्तोलाले प्रविधिको कारण हिंसाको स्वरुप परिवर्तन भएको बताउँदै यसबाट जोगिनुपर्ने धारणा राखे । हिंसा अन्त्यभन्दा न्यूनिकरणका लागि सबै तहको भूमिका महत्वपूर्ण हुने बताए ।  स्थानीय सरकार नागरिकको नजिकको सरकार भएको प्रष्ट पार्दै जनप्रतिनिधिहरुले लैंगिक हिंसा न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका हुने बताए । उनले लैंगिक हिंसा र लैंगिक हिंसा सम्बन्धी कानुनी प्रावधानहरुको बारेमा चर्चा गरेका थिए ।  लैंगिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ ’ भन्ने रहेको छ । महानगरले भने यसवर्षको अभियानको नारा ‘लैगिक हिंसा निवारणका लागि आर्थिक  सशक्तिकरण र कानूनी सचेतना, लैंगिक मैत्री नगर निर्माण ललितपुर महानगरको चाहना’ तय गरेको छ ।  महिला विकास शाखाकी प्रमुख शोभादेवी खरेलले लैैंगिक हिंसा भनेको महिलामाथि हुने हिंसा नभएको बताइन् । पुरुषमाथि हुने हिंसा , यौनिक अल्पसंख्यकहरुमाथि हुने हिंसा पनि लैंगिक हिंसा भएको प्रष्ट पारिन् ।

WhatsApp-Image-2025-11-26-at-09.42.16-1764129989.jpeg
 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार