सोसल मिडिया
Contact Us
युनिकोड
क्याम्पसमा विद्यार्थी संख्या धेरै, प्राध्यापक र कर्मचारी संख्या न्यून, पुरानो संरचना, र समयसापेक्ष पूर्वाधार अभावजस्ता चुनौती भएपनि ती समस्याहरू समाधान गर्न पूर्णतः प्रतिबद्ध छु । डा.ठाकुर प्रसाद वाग्ले प्रमुख सरस्वती बहुमुखी क्याम्पस, ठमेल
काठमाडौं । सरस्वती बहुमुखी क्याम्पसका प्रमुख डा.ठाकुर प्रसाद वाग्लेले आफ्नो मुख्य प्राथमिकता आर्थिक पारदर्शिता, शैक्षिक सुधार, नयाँ शैक्षिक कार्यक्रमको विस्तार र भौतिक संरचना विकास भएको बताएका छन् । क्याम्पसको वार्षीक साधारण सभाका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयको ‘रातो किताब’अनुसार आर्थिक पारदर्शिता सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे । सोही अनुरुप आफूले क्याम्पस प्रमुखको चेम्बरमा चिया–खाजाको व्यवस्था केवल औपचारिक कार्यक्रम तथा अतिथिको उपस्थितिमा मात्र गर्ने र अन्य सामान्य भेटघाटमा साधारण पानी मात्र उपलब्ध गराउने निर्णय लागू गरिसकेको बताएका छन् । आर्थिक अनुशासन क्याम्पस प्रमुखकै कक्षबाट सुरु हुनुपर्छ भन्ने विश्वाससहित उनले यस कदमलाई पहिलो एजेन्डाको रूपमा अघि बढाएका हुन् । साथै, शैक्षिक गुणस्तर सुधारका लागि प्राध्यापक मूल्याङ्कनको रोस्टर प्रणाली विकास गरिएको छ, जसअनुसार सिनियर प्राध्यापकको नेतृत्वमा गठन भएको विशेष समितिको निर्णयअनुसार स्नातकोत्तर तहका संयोजक नियुक्त गरिने प्रक्रिया कार्यान्वयनमा आइसकेको छ । विद्यार्थी संख्या घट्दै गएको परिस्थितिमा उनले नयाँ कार्यक्रम ल्याउने योजनालाई प्राथमिकता दिएका छन् । जसअन्तर्गत क्याम्पसले रात्री सत्रमा एमपीए कार्यक्रमका लागि प्रस्ताव प्राज्ञिक प्रक्रियामा अगाडि बढिसकेको छ । उनले अर्को वर्षबाट बिएलएलबी कार्यक्रम सुरु गर्ने लक्ष्यसहित लिखित प्रस्ताव समेत डीन कार्यालयमा पेश गरेको बताए । ‘बिहानी सत्रमा एमपीएलाई एमबीए कार्यक्रमसँग मर्ज वा रिप्लेस गर्दै आधुनिक संरचनामा रूपान्तरण गर्ने नीतिअन्तर्गत आवश्यक पहल भइसकेको छ । प्रशासनिक क्षेत्रमा भने ७५ जना कर्मचारीको दरबन्दी रहे पनि २७/२८ जना अस्थायी करार संख्याको कर्मचारी छौं । कर्मचारी संख्या धेरै न्यून छ,’ उनले भने । ‘त्यो न्यून कर्मचारीहरूलाई पनि केही ओभरटाइम दिएर पनि व्यवस्थापन मैले गरिरहेको छु र त्रिविको कार्यकारी सदस्यले मंैले लिखित मौखिक जानकारी गराइसकेको छु । क्याम्पसको कोठाहरूको चाहिँ विद्यार्थी संख्यामा कक्षा कोठाहरू अत्यन्तै न्यून छ ।’ कक्षा कोठाको अभाव अत्यन्त गम्भीर रहेको बताउँदै उनले लाइब्रेरी, कम्प्युटर ल्याब र कार्यालय कक्षहरूमा समेत कक्षा लिनुपरेको अवस्था रहेको जानकारी दिए । यस समस्याको समाधानका लागि थापाथली इन्जिनियरिङ कलेजका इन्जिनियरमार्फत पाइलट सर्भे गराइसकिएको र छिट्टै विस्तृत सर्भे गरी चार कोठे नयाँ भवन निर्माण सुरु गर्ने तयारी भएको बताए । दीर्घकालीन रूपमा भने आधुनिक सुविधायुक्त ठूलो भवन निर्माण गर्ने योजना अघि बढाइने उनले जानकारी गराए । गुणस्तरीय शिक्षालाई आफ्नो मुख्य शैक्षिक एजेन्डा बनाउँदै उनले विषयमा गहिरो ज्ञान, नतिजा उन्मुखता र अध्यापन क्षमताका आधारमा शिक्षक चयन तथा मूल्याङ्कनलाई प्राथमिकता दिने बताए । ३० वर्षको प्राध्यापन अनुभवका कारण उनी स्वयं कक्षामा गएर अध्यापन गर्न पनि तयार रहेको बताउँदै उनले नियमित अनुगमन र क्रस–चेकमार्फत कुनै विद्यार्थी शैक्षिक रूपमा वञ्चित नहोस् भन्ने उद्देश्य व्यक्त गरे । क्याम्पसमा विद्यार्थी संख्या धेरै, प्राध्यापक र कर्मचारी संख्या न्यून, पुरानो संरचना, र समयसापेक्ष पूर्वाधार अभावजस्ता चुनौती भएपनि ती समस्याहरू समाधान गर्न आफू पूर्णतः प्रतिबद्ध रहेको उनले जानकारी दिए । समयअनुकूल प्राध्यापक र कर्मचारी दुवैका लागि आधुनिकीकरण तथा सीप विकास प्रशिक्षण आवश्यक रहेको बताउँदै उनले यसतर्फ गम्भीर पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । क्याम्पसको समग्र सुधार, पारदर्शिता, शैक्षिक उत्कृष्टता र संरचनागत विकासलाई उनले आफ्नो नेतृत्वकालको आधारभूत लक्ष्यका रूपमा अघि सारेका छन् ।