गोविन्द आचार्यको सुर यात्रा, ‘संगीतकार सधैं छायामा छन्’(भिडियो)

आइतबार, चैत ११, २०८०

काठमाडौं । दाङका गायक र संगीतकार गोविन्द मधुर आचार्यले सांगीतिक यात्रा २०५९ सालमा थालेका हुन् ।  संगीत क्षेत्रमा लागेका उनले दोहोरीदेखि चलचित्रमा आधुनिक गीतसम्म धेरै थरी  गाएका छन् । सांगीतिक क्षेत्रमा लागेको लामो समयसम्म उनले चर्चा भने पाउन सकेका थिएनन् । 
तर, जब ‘म मरेको छैन’ रिलिज भयो, त्यसपछि भने उनलाई गायनदेखि संगीतसम्म अफर बढ्यो । उनले संगीतकारका रुपमा अपेक्षित चर्चा कमाउन नसकेपछि उनले गायनको क्षेत्रमा कदम राखेका हुन् । उनले आफ्नै लगानीमा उक्त गीत निकालेका हुन् । 
उनले यो गीत आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेका थिए तर चर्चा कमाउन सकेका थिएनन् । तर टिकटकबाट जब यो गीतले चर्चा कमायो त्यसपछि मात्रै गोविन्द चर्चामा आएका हुन् । अहिले उनले स्थापित गायकको परिचय बनाएका छन् ।
‘मैले संगीतकारको रुपमा धेरै काम गर्दा पनि चर्चामा नआएपछि गायनको क्षेत्रमा कदम राखेको थिएँ,’ उनी भन्छन्, ‘आफ्नै लगानीमा लगातार ५ वटा गीत पनि निकालेँ । आफ्नै लगानीको छैटौ गीत ‘म मरेको छैन’ चाहिँ राम्रो चल्यो, त्यसकारण गायन क्षेत्रमा एकदम राम्रो भएको जस्तो महसुस भएको छ ।’
‘कान्छीको रुमाल खस्यो पानीमा’ लोकपपबाट गायनयात्रा सुरु गरेका गोविन्दको स्वरमा १२५ भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गोविन्दको स्वर, शब्द र संगीतका गीतको सूची ६ सयभन्दा बढी पुगेको छ ।


सानै उमेरदेखि संगीतमा लगाव भएका उनको परिवारमा पनि सबै यस क्षेत्रमा लागेकाले प्रेरणा मिलेको हो ।  
उनले भने, ‘म सानैदेखि नै संगीतमा धेरै नै रुचि थियो र यसमा मेरो परिवारको पनि धेरै साथ र सहयोग छ । मेरो परिवारमा प्राय सबै जना गाउने नै हुनुहुन्थ्यो । मेरो लगाव पनि धेरै त्यतै तिर भयो, पेसागत रुपमा गीतलाई मैले नै औपचारिक रुपमा अगाडि बढाउने अवसर पाए ।’ 
उनलाई लाग्छ नेपालमा संगीतकारहरु छायामा मात्रै होइन, अन्धकारमा नै छन् । उनले भने, ‘मैले हिजोको दिनमा संगीतकारको रुपमा धेरै कामहरु गरँे, मैले हरेक प्रकारको गीत गरेको छु । नेपालमा के भइरहेको छ भने गीतहरु सुनेका हुन्छौ तर त्यसको संगीतकार को हो भनेर चिनेको हुँदैन । संगीतकारहरु छायामा मात्रै होइन, अन्धकारमा नै छन् । त्यसकारण मैले संगीतकारको रुपमा धेरै गीतहरु सिर्जना गरे पनि मैले चिनिने मौका ढिला पाएँ ।’ 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार