कपिल शर्माविरुद्धको उजुरी अदालतद्वारा खारेज

शुक्रबार, चैत ९, २०८०

मुम्बई । भारतीय प्रख्यात कमेडियन कपिल शर्मा आफ्नो शोसँगै विवादका कारण पनि चर्चामा आउँछन् । उनी अहिले नयाँ शोको रिलिजको तयारीमा छन् । जुन शो नेटफ्लिक्समा रिलिज हुँदैछ । यहीबीचमा कपिलविरुद्ध परेको एक उजुरीलाई अदालतले खारेज गरिदिएको छ । दुई वर्षअघि ‘द कपिल शर्मा शो’ को एक एपिसोडमा अदालतको एक कोठा तयार पारिएको थियो । जहाँ करिब ८ मिनेटसम्म अदालतको कारवाही देखाइएको थियो । जहाँ कपिल शर्मा र उनका साथीहरूले अदालतको कोठामा हुने कानुनी कारवाहीका बारेमा अभिनय गरेका थिए । यो एपिसोडमा कपिल वकिलको भूमिकामा थिए । उनले दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गर्दै मदिरा मागेका थिए । यो एपिसोड हेरेका ग्वालियरका मजिष्ट्रेट कोर्ट र सेशन कोर्टका अधिवक्ता सुरेश धाकडाले शोका निर्मातासँगै शोका होस्ट कपिल शर्माविरुद्ध मुद्दा दर्ताको माग गर्दै उजुरी दिएका थिए । उजुरीमा शोको माध्यमबाट अदालतको छविलाई धमिल्याउने प्रयास गरिएको उल्लेख थियो ।
उजुरीमा कपिलको शोमा दोहोरो अर्थ लाग्ने संवाद धेरै प्रयोग गरिने र महिलामाथि भद्दा प्रतिक्रिया दिइने आरोप थियो । उजुरीमा अदालतमा मदिरा पिएको देखाइएपछि त्यसले अदालतको अपमान गरेको र यही तर्कका आधारमा कपिलविरुद्ध धारा ३५६÷३ का अनुसार एफआईआर दर्ताको माग गरिएको थियो ।
यही मामलामा हाई कोर्टको ग्वालियर खण्डपिठले कपिललाई राहत दिएको छ । अदालतले उजुरीलाई सुनेर आफ्नो प्रतिक्रिया दिएको छ । अदालतका अधिवक्त सुरेशलाई पनि पब्लिसिटी स्टण्टका लागि प्रहरीको काँधको उपयोग नगर्न सचेत गराएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार