फ्राइडे रिलिजमा पाँच फिल्म :  पूजा भन्छिन्, ‘उपहार अब दौडियो’

शुक्रबार, फागुन २५, २०८०

काठमाडौं । आज९शुक्रबार०बाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।  ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ’उपहार’ को बिहीबार दिउँसो प्रिमियर सो हेर्न पुगेका अधिकांश दर्शक र कलाकारले नै उपहारको खुलेर प्रशंसा गरे । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् ।
केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको उपहारको रनटाइम २ घण्टा २३ मिनेटको रहेको छ । 
फिल्मको ट्रेलरले उपहारको कथाबस्तु सामान्य नागरिकले जीवनयापनका लागि गर्ने संघर्षमा आधारित भएको दर्शाउँछ । उपहारमा रेखा थापा चियावालीको भूमिकामा छिन् भने अन्य चरित्रले पनि जीवनयापनको लागि गरेको संघर्षलाई उतारिएको छ ।  महानगर प्रहरीले चिया पसल भत्काएको दृश्यले फिल्ममा द्धन्द्धात्मक अवस्था निम्त्याएको स्पष्ट पार्छ । तर, कथावस्तुमा नेपाली समाजमा देखिन थालेको विकृतिलाई हास्यव्यङ्ग्यमार्फत दर्शाएर सपना पूरा गर्न विदेश नै जानुपर्छ भन्ने भास्यलाई चिर्न खोजिएको छ । 
शुक्रबार सो हेरिसकेपछि अधिकांश दर्शक र कलाकारले पनि कथा रोचक तर यथार्थमा सामान्य नागरिकले बाँच्नकै लागि गर्दै आएको संघर्षलाई हास्यव्यङ्यग्यात्मक शैलीमा प्रस्तुत भएको अब्बल फिल्म भएको प्रतिक्रिया दिएका छन् । दर्शकले फिल्मको कथावस्तु र कलाकारका अभिनयको खुलेर प्रशंसा गर्दै एउटा ‘प्याकेज’को रुपमा उपहार आएको बताए । 
उपहार हेरेपछि एक दर्शकले भने, ‘नेपालको अहिलेको स्थिति अनुसारको कथा प्रस्तुत भएको छ । हाँसोसँगै कहिलेकाहीं कथाले रुवाउँछ पनि समग्रमा राम्रो बनेको छ उपहार ।’
उपहारप्रति दर्शकले राम्रो प्रतिक्रिया दिएपछि हौसिदै अभिनेत्री पूजा शर्माले भनिन्, ‘मैंले सोचेको नै यस्तै प्रतिक्रिया आउला भन्ने थियो । हाम्रो टीम नै यति राम्रो छ कि कुनै नकारात्मक भाव नै आउँदैन् । झन् दर्शकले साँच्चिकै रमाइलो र राम्रो फिल्म बनेको छ भनेर प्रतिक्रिया दिनुभयो,उपहार चल्ने मात्रै होइन दौडिसक्यो ।’
शिवरात्री पर्वको दिन पनि उपहार हेर्न दर्शकको उल्लेख्य उपस्थिति भएको भन्दै चलचित्रमा मुख्य हिरोको भूमिकामा रहेका मुकुन भुसालले भने, ‘आज पर्वको दिन बिहानकै सो मा दर्शकको यस्तो अकुपेन्सी पाउनु राम्रो हो । चलचित्रले दर्शकहरुलाई मनोरञ्जन दिएको छ, दर्शक रमाएका छन्, हामी खुशी छौं ।’
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा बनेको फिल्ममा रेखासहित पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
सुलभ प्रतिक र समीक्षा देउजा निर्माता रहेको फिल्मको बलराम शाही ठकुरी कार्यकारी निर्माता हुन् ।  
फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
आजबाट नेपाली सिनेमा हलमा विदेशी र नेपाली गरेर पाँच फिल्म एकैसाथ प्रदर्शनमा आएका छन् । जसमा नेपाली फिल्मतर्फ ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ एकसाथ प्रदर्शन हुँदा विदेशी फिल्मतर्फ बलिउड फिल्म ’शैतान’ र हलिउड फिल्म ‘कुङ फु पाण्डा ४’ प्रदर्शनमा छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार