अर्पण भन्छन् –‘रङ्गेली’को भगवान दादा ‘टिपिकल भिलेन’

बिहीबार, फागुन १७, २०८०

काठमाडौं । अभिनेता अर्पण थापा विशेषत फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता हुन् । उनले आफूले अभिनय गरेका प्रत्येक फिल्मका चरित्रमा न्याय गरेका छन् । अर्पण यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘रङ्गेली’मा ‘भगवान दादा’को चरित्रमा देखिँदैछन् ।
ग्याङस्टार चरित्रमा अभिनय गर्न रुचाउने अर्पण फिल्ममा ग्याङ्स्टार चरित्रमै छन् । ‘भगवान दादा रङ्गेली भन्ने ठाउँको शक्तिशाली मान्छे हो । उसले एउटा एरियालाई आफ्नो अधिनमा राखेको हुन्छ । प्रशासनदेखि लिएर धेरै कुरामा उसको हस्तक्षेप हुन्छ । मान्छेसँग जति धेरै पावर हुन्छ, ऊ राजनीतिमा पनि जोडिन्छ । मेरो चरित्रले काम गरिरहँदा मलाई प्रशासनले र आफूले गरिरहेको कामले गाह्रो बनाउने अवस्था आउँछ’, उनी भन्छन् ।
अर्पण ‘भगवान दादा’ लाई ‘टिपिकल भिलेन’का रुपमा चित्रण गर्छन् । ‘सामान्यतयाः चलचित्रमा यस्तो क्यारेक्टर सुटमा देखिन्छ । यस्तो क्यारेक्टरमा अलिक बढी भेरिएसन दिन पाइन्छ । लुक्स र गेटअपले गर्दा मलाई दर्शकले युरोपियन लुक्स जस्तै देखिएको भन्छन् । तर यो चलचित्रमा भने मलाई दर्शकले टिपिकल लोकल लुक्समा देख्नुहुन्छ । एक तहमा मेरो लुक्स केही फरक छ’, अर्पण भन्छन् ।
अर्पणका अनुसार यो फिल्मको तयारी गर्दा धेरै पटक लुक टेस्ट गर्नु परेको थियो । कुन किसिमको पहिरन लगाउने भन्ने छलफल पनि भएको थियो । ‘लुक टेस्ट गरेपछि लुगामा आइसक्दा हाम्रो लागि अर्कै किसिमको पहिरन बन्यो । मैले सेटमा धोती र कालो सट लगाएर फस्ट सुट गरेका थिएँ । त्यो लुगा सबैले मनपराएपछि पहिरन परिवर्तन नगर्ने निर्णयमा पुग्यौं । मेरो चरित्रका लागि चारवटा कोट र पाइन्ट तयार पारिएका थिए’, अर्पण भन्छन् ।
अर्पण तराईतिरको बसाईमा त्यति ‘भिजेका’ होइनन् । ‘तर हामीले जति सोचेका थियौं, हामीले स्क्रिप्ट अनुसार आफूलाई तयार पारेका थियौं, फ्लोरमा गएपछि दुईचारवटा कुरा धेरै देखियो । यो कुरालाई चाहिँ मान्छेले जिज्ञासाको रुपमा राख्छन् या यो कुरालाई मान्छेले खासै मतलब पनि गर्दैनन् भन्ने कुरा जोडिन थालेपछि त्यही अनुसार क्यारेक्टरलाई केही अदलबदल चाहिँ गर्यौ’, उनी भन्छन् ।
अर्पण दर्शकहरु आफ्नो चरित्रमा ‘कनेक्ट’ भन्दा पनि आफ्नो चरित्रबाट दर्शक कडामा ‘कनेक्ट’ हुने बताउँछन् । ‘म चाहिँ भाँडो अथवा गाडी जस्तो भएँ । जसमार्फत दर्शकलाई तलको परिवेश, बसाई, भोगाई, त्यहाँ लगिदिन्छु । म चाहिँ एउटा आधार हो’, अर्पण खुल्छन् ।
उनी ‘रङ्गेली’ लाई जनरा अनुसारको फिल्म मान्छन् । ‘फिल्ममा एउटा जनरा भन्छौं, तर त्यसको खिचाई, परिवेश फरक पर्दा पर्दै फिल्म सकिन्छ । तर यसमा चाहिँ मिठो कुरा के छ भने यसमा जनरा अनुसार नै कथा बगेको छ । जनरा र ठाउँ अनुसारको लुक चाहिने भएकाले त्यही नै एडप्ट गरिएको छ । फिल्मका साना–साना चरित्र पनि कथा सुहाउँदो र विश्वासिला बनेका छन्’, उनी भन्छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार