दक्षिण कोरियामा गुञ्जँदै मंगोलियन हार्ट

मंगलबार, माघ २३, २०८०

काठमाडौं । नेपालको पुरानो ब्याण्ड ‘मंगोलियन हार्ट’ले पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगीतिक यात्रा गरेको ब्याण्डले अब दक्षिण कोरियाका नेपालीमाझ आफ्नो गीत सुनाउन लागेको हो ।
ब्याण्डका मेनेजर एवम् गितारिष्ट बबी लामाले आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमामा रहेको डोँगदे मुनमा सांगीतिक प्रस्तुती दिन लागेको बताए । नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने कन्सर्टमा ब्याण्डका प्रमुख गायक राजु लामाको आफ्ना पुराना चर्चित र नयाँ गीतहरु सुनाउनेछन्  । ‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौं । त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौं,’ म्यानेजर लामाले भने ।
३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्याण्डका लोक, स्लो रक, पप मेलोडी संगीत दर्शकमाझ लोकप्रिय छ । ब्याण्डमा रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
ब्याण्डका ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ जस्ता गीत लोकप्रिय छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार