बलिउड 

कहाँ छिन् वैजयन्ती माला ?

शुक्रबार, माघ १२, २०८०

मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री वैजयन्ती माला बाली ती १ सय ३२ व्यक्तिमा पर्छिन्, जो पद्मा पुरस्कार २०२४ बाट सम्मानितको सूचीमा छिन् । यो पुरस्कार प्राप्त गर्ने सूचीमा वैजयन्तीका नाम परेपछि अहिले सबैको चासो वैजयन्ती कहाँ छिन  भन्नेमा छ । वैजयन्तीले आफ्नो अभिनयको सुरुवात सन् १९४९ मा रिलिज तमिल फिल्म ‘वाजकई’बाट गरेकी थिइन् ।  त्यो समय उनको उमेर केवल १६ वर्षको मात्र थियो । त्यसपछि उनले सन् १९५१ मा ‘बहार’ फिल्मबाट हिन्दी फिल्ममा पाइला चालिन् । हिन्दी फिल्ममा आगमनपछि वैजयन्तीले कहिल्यै पछाडि फर्केर हेरिनन् । उनले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिइन् । यतिमात्र होइन, उनले आफ्नो अभिनयबाट हिन्दी फिल्मलाई एक नयाँ उचाई नै दिइन् । उनको अन्तिम फिल्म सन् १९७० मा रिलिज ‘गँवार’ थियो । वैजयन्ती अभिनेत्रीमात्र थिइनन्, उनी प्रतिभाशाली नर्तकी पनि थिइन् । ‘मन डोले मेरा मन डोले’, ‘मैं का करुँ राम मुझे बुढ्ढा मिल गया’, ‘होठों पे ऐसी बात’ र ‘उडे जब जब जुल्फें तेरी’ जस्ता कैयौं गीतमा उनले शानदार नृत्य गरेकी थिइन् । वैजयन्तीले फिल्म क्षेत्र छोडेको ५० वर्ष बढी भइसकेको छ । फिल्म ‘गँवार’ पछि फिल्मबाट टाढिँदा उनको उमेर केवल ३७ वर्षको मात्र थियो । दुई दशकको फिल्मी करियर उनका सही सफल साबित भयो । उनको भूमिकालाई अहिले पनि दर्शकले उत्तिकै सम्झन्छन् । वैजयन्तीले राजनीतिलाई पनि करियर बनाएकी थिइन् । उनले तमिलनाडुबाट चुनाव लडेर लोकसभा सदस्य बनेकी थिइन् ।  उनी सन् १९९३ मा राज्यसभाका लागि निर्वाचित भइन् । उनले सन् १९९९ मा काँग्रेसको सदस्यता त्यागिन् । त्यसपछि भारतीय जनता पार्टीको सदस्यता लिएकी थिइन् । अहिले वैजयन्ती ९० वर्ष पुगिन् । उनी हाल चेन्नईमा परिवारका साथ बसिरहेकी छन् । उनी नयाँ पिढीलाई नृत्यको शिक्षा दिइरहेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार