गोर्खा वारियर फागुन ११ गतेबाट नेपालमा

शुक्रबार, माघ १२, २०८०

काठमाडौं । सन् १९४९ का बेला मलाया युद्धको क्रममा नेपालीहरुले लडेको कथालाई प्रस्तुत गरिएको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमबिच २ मिनेट २२ सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म आगामी फागुन ११ गतेबाट नेपालमा रिलिज हुँदैछ । ट्रेलरमा तत्कालिन समयमा मलाया युद्धको पृष्ठभूमि र सो युद्धमा गोर्खाली सैनिकहरुले गरेको संघर्षलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार रितेश चाम्स, विजय लामा, कविता आले, रेविका गुरुङलगायतका कलाकार फिचर्ड छन् । ट्रेलरमा सन् १९४९ को समयको नेपालको ग्रामीण परिवेश, त्यसबेलाको प्रेम र गोर्खा भर्तीमा जाने परम्परालाई देखाइएको छ ।फिल्मका लेखक तथा निर्देशक मिलन चाम्सले आफूले ‘गोर्खा वारियर’ बनाउन तीनवर्ष अध्ययन गरेको बताए । ‘म आफू पनि पूर्वगोर्खा सैनिक भएकाले गोर्खा सैनिकलाई नजिकबाट चिनेको र बुझेको छु’, मिलनले भने, ‘मैंले आफूले भोगेको र देखेको सँगै अध्ययन तथा अनुसन्धानबाट प्राप्त नयाँ तथ्यलाई फिल्ममा प्रस्तुत गरेको छु ।’ फिल्म नेपालीसँगै हिन्दी, अङ्ग्रेजी र कोरियन भाषामा रिलिज हुँदैछ । फिल्मको हाल हिन्दी संस्करणका लागि मुम्बईमा स्वरांकनको काम भइरहेको छ । हिन्दी भर्सनमा फिल्मका मुख्य कलाकार रितेशको हिन्दी स्वरांकनको काम दक्षिण भारतीय फिल्म ‘केजीएफ’का लागि अभिनेता यशको हिन्दी संस्करणको स्वरांकन गरिसकेका डबिङ आर्टिस्ट सचिन गोलेले गरिरहेका छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा सारा राई, शिशिर वाङ्देल, रियर राई, सुरज तमु, विरुप घले, सरोज खालिङ, सुमिन गुरुङलगायतका कलाकारको पनि अभिनय छ । फिल्मले गत दशैं अघि बेलायतमा रेडकार्पेट प्रिमियर गरेको थियो । यो फिल्म ‘ब्रिटिस एकेडेमी अफ फिल्मसे एण्ड टेलिभिजन आर्टस्(बाफ्टा)’को प्रारम्भिक मनोनयनमा मनोनित भइसकेको छ ।
 
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार