वरिष्ठ गायक योगेश वैद्यको निधन 

शुक्रबार, माघ ५, २०८०

काठमाडौं ।  वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ ।  पारिवारिक स्रोतका अनुसार बिहीबार राति साढे १२ बजे उनको निधन भएको थियो ।
दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारले जनाएको छ । उनलाई भ्याली अस्पताल लगिएको थियो ।
गायक वैद्य ७७ वर्षका थिए । 
उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् ।
१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए । इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्‍याए । रेडियोमा निर्देशक भोग्यप्रसाद शाहलगायत थुप्रै कलाकारसामु उनले दुई दर्जन गीत सुनाए । मोहम्मद रफी, तलत महमुदलगायतको । सबैले तारिफ गरे । उनको स्वरपरीक्षा त्यही भयो । किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत रेकर्ड भयो, ‘कति प्यासी छ जिन्दगी...’ ०२२ मा । त्यसपछि एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु...’ । एमएस्सी पढ्दा केही समय गाएनन् । त्यसपछि रत्न रेकर्डिङ संस्थानमा एकैपटक चारवटा गीत डिस्क रेकर्ड भए । कति प्यासी... सहित नित्य नयनमा तारा, प्रेमको अधुरो कहानी... ।
वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए योगेश । करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए । आज शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन्

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार