सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ । आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ का लागि २९ लाख र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ का लागि ३१ लाख रुपैयाँ खर्च गर्न पउने गरी सीमा निर्धारण गरेको छ । आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तनहुँ– १ का उम्मेदवारले थाले चुनावी अभियान आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमबार उम्मेदवारी दर्ता गराएसँगै उनीहरुले चुनावी गतिबिधिलाई तीब्र पारेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सम्पर्क कार्यालय स्थापना गरेर अभियान सुरुआत गरेका छन् । व्यास नगरपालिका–३ निमचोकमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै उनले तनहुँ – १ को समग्र विकासका लागि उम्मेदवारी दिएको बताए । यसै क्षेत्रबाट निर्वाचित भएर राष्ट्रपति बनको रामचन्द्र पौडेलको विकास योजनालाई पूरा गराउन आफू उम्मेदवार बनेको उनले स्पष्ट पारे । “म आदरणीय रामचन्द्र पौडेलको उत्तराधिकारी हुँ, यहीँ जन्मिएको छोरा हुँ, यहाँका जनताले मलाई विजयी गराउनेमा विश्वस्त छु ,” उनले भने । उनले जिल्लाको खानेपानी, सडक, बिजुलीलगायतका क्षेत्रमा विकास गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेकोमा जोड दिए । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले मतदाता भेटघाट गरी चुनावी अभियान सुरु गरेका छन् । बन्दीपुर गाउँपालिका–१ भुडाटारका युवा मतदातासँग भेट माग्दै उनले तनहुँलाई गर्व गर्न लायक जिल्ला बनाउने प्रतिवद्धता जनाएका छन् । प्रहरीको कार्यकालमा सधैँ जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको बताउँदै अब पुनः तनहुँवासीको सेवा गर्ने उद्देश्यसहित निर्वाचनमा सहभागी भएको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले प्रसिद्ध छाब्दीबाराही मन्दिरको पूजाआजा गरी चुनावी अभियान थालेका छन् । सो क्रममा उनले व्यास –१४ का स्थानीय मतदातासँग भेट गरी देश र जिल्लाका लागि केही गर्ने सोच बोकेर आएको बताए । उनले निर्वाचनमा विजयी भए तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा नौ जनाको उम्मेदवारी परेको छ । राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा (समाजवादी) बाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार छन् । निर्वाचन कार्यतालिका अनुसार यही चैत २३ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ । मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको निर्वाचन कार्यालयले जनाएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि माघ २९ गतेसम्म मतदाता नामावलीमा दर्ता गरेकाहरुले मत हाल्न पाउने निर्णय भएको कार्यालयले जनाएको छ । मङ्सिर ४ गतेसम्म तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी भएका थिए ।