सोसल मिडिया
Contact Us
युनिकोड
कठमाडौं । केन्द्रमा राजनीतिक समिकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थालेका छन् । मुख्यमन्त्री शाहले आगामी आइतबार (फागुन २१ गते) भित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन् । विश्वासको मतका लागि उनले दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । मुख्यमन्त्री शाह केही दिन अघि काठमाडौँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । संविधानको धारा १६८ (३) बमोजिम गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने छ । प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता शाह एकीकृत समाजवादीका गरी २३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले विश्वासको मतका लागि २७ सदस्य जुटाउनु पर्छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र गरी एक एक सदस्य छन् । पछिल्लो पटक केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाह प्रदेशसभामा विश्वासको मत पाउनेमा ढुक्क छन् । यसअघि मुख्यमन्त्रीमा नियुक्त ुभएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तोकिएको समयभित्र प्रदेशसभामा विश्वासको मत पाउन असफल हुनु भएपछि राजीनामा दिएका थिए । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा एमालेका रावल मुख्यमन्त्री नियुक्त भएका थिए । नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त भएका थिए ।