सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपति निर्वाचनको सम्मुखका नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतका विदेशसचिव विनयमोहन क्वात्राको सोमबार ह्याक्टिक दिन बन्यो । राष्ट्रपति निर्वाचनको विषयमा नेपाली राजनीति धु्रवीकृत भइरहेका बेला भारतीय संस्थापन पक्षको सन्देश लिएर नेपाल भ्रमण आएका विदेशसचिवको यो यात्रालाई फरक फरक कोणबाट व्याख्या गरिएको छ ।
कुटनीतिक संयन्त्रको बैठकका लागि विदेशसचिव क्वात्रा नेपाल आएको भनिए पनि उनको भ्रमणको भित्रि उद्देश्य भारतीय संस्थापन पक्षले आफू अनुकुलको राष्ट्रपति चयन गर्न सकियो भन्ने माहोल बनाउन आएको बताइएको छ । सोमबार बिहान त्रिभुवन विमानस्थलमा आर्ले लगतै होटल याक एण्ड यति पुगेर नेपाली समकक्षी भरतराज पौडेलसँग भेटवार्ता गरेका विदेशसचिव क्वात्राले लगत्तै सचिवस्तरीय समन्त्रको औपचारिक बैठकमा भाग लिए । आफ्ना नेपाली समकक्षी पौडेलले दिएको दिवाभोजमा सहभागी भएपछि उनले पराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग भेट गरेका थिए । उनले साझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज साँझ शिष्टाचार भेटवार्ता गरेका हुन् ।
विदेशसचिव क्वात्राले आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन् । विदेशसचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।