सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले कुटनीतिक भेटघाट सुरु गरेका छन् । भ्रमणका लागि काठमाडौं ओर्लेको केही समयपछि नै विदेश सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी भएका क्वात्राले लञ्च मिटिङपछि कुटनीतिक भेटघाट सुरु गरेका हुन् । उनले पहिलो कुटनीतिक भेटघाट उनका नेपाली समकक्षी भरतराज पौडेलसँग होटल याक एण्ड यतिमा भएको थियो । नेपालका परराष्ट्रसचिव पौड्याल र भारतीय विदेशसचिव क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।
द्धिपक्षीय संयन्त्रको औपचारिक बैठक तथा नेपाली समकक्षी पौडेलसँगको भेटपछि क्वात्राले पराराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे । परराष्ट्रमन्त्री डा.पौड्यालसँगको भेटवार्तापछि अपराह्न क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ। आज साँझ ६ बजे नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । पराष्ट्रमन्त्रीसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।
भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा पौड्यालले जानकारी दिएकी छन् । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाईरुट खोलिदिन मन्त्री पौड्यालले आग्रह गरेकी छन् । कुटनीतिक भेटमा नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राखेकी थिइन् । भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन् । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । विदेशसचिव बन्नुअघि उनी नेपालका लागि भारतीय राजदूत थिए ।