विवाहले करिअरमा असर नगरेका अभिनेत्री

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने करिअर निर्माणमै बढी समय खिर्चिने हुँदा विवाह ढिला गर्छन् । 
नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्रीहरू छन्, जसले विवाह पश्चात करिअरलाई उचाइमा लगे । बिहे गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ ग्यामलर क्षेत्रमा पाइन्छ । यद्दपि नेपाली फिल्ममा बिहेपछि नै अभिनय करिअर सुरु गरेर सफलता चुमेका थुप्रै उदाहरण छन् । सदाबहार अभिनेत्रीको ट्याग पाउनु भएकी अभिनेत्री करिश्मा मानन्धरले अभिनय यात्रामा सफलता विवाह पश्चात प्राप्त गरेकी हुन् । 
कस्तुरी फिल्मको सुटिङका क्रममा सोही फिल्मका निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो । विसं २०४६ मा निर्माण भएको ‘सन्तान’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुन् । यद्दपि फिल्म, विज्ञापन, म्युजिक भिडियोमा उनको अभिनय देख्न पाइन्छ । उहाँले फिल्ममा प्राप्त गरेको सफलता विवाह पश्चातनै हो । 
उनले अभिनय गरेको फिल्म ‘बगान’ आउँदो फागुनमा प्रदर्शन हुँदैछ । २०५२ सालमा निर्माण भएको ‘दाइजो’ फिल्ममा छोटो भूमिकामा देखिनुभएकी अभिनेत्री झरना थापा २०५५ सालमा आफैले निर्माण गरेको ‘धर्मसङ्कट’ बाट स्थापित भइन् । यो फिल्ममा उनका पति सुनिलकुमार थापाले निर्माण गरेका हुन् । उनी होम प्रोडक्सनकै फिल्ममार्फत स्थापित भएकी हुन् । “मेरो करिअरमा ‘ए मेरो हजुरको महत्व छ । यहीँ फिल्ममा अभिनय गरेपछि मैले करिअरमा नयाँ उचाइ पाएँ । यहीँ नामको फिल्ममार्फत निर्देशनमासमेत मेरो उदय भयो”, अभिनेत्री थापाले भनिन्, “मलाई आमा हुँदा करिअरमा कुनै असर गरेन् । मैले छोरीलाई समय दिन सकिन भन्ने चाही लाग्थ्यो ।” 
रेखा थापाले विवाहपश्चात् अभिनय प्राप्त गरेको सफलता उदाहरणीय नै छ । सञ्चिता लुइँटेल, प्रियङका कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाह पश्चात अभिनयमा सक्रिय नै छन् । “विवाहपश्चात् झनै स्वतन्त्र महसुस हुन्छ । विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ । श्रीमान्को साथले करिअरलाई अगाडि बढाउन मद्दत गरिरहेको छ । म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु”,अभिनेत्री शर्माले भनिन्, “अभिनेत्रीले अभिनय गर्न सक्दासम्म अन्य पक्षले असर गर्छ जस्तो लाग्दैन् ।” उनले अभिनय गरेको फिल्म ‘झिँगेदाउ’ यसवर्षको सुपरहिट फिल्ममा सामेल भइसकेको छ । 
–रासस 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार