कलाकारको आँखामा तीज

कलाकार भन्छन्, 'तीज मनाउने शैली बदलियो, भावना बदलिनु हुँदैन'

रातो साडी, माइतीको सम्झना र बदलिँदो संस्कार

काठमाडौं । भदौ महिना प्रारम्भ हुनसाथ नेपाली समाजमा तीजको रौनक छाउँछ । रातो साडी, चुरा, पोते र गहनामा सजिएका महिलाहरू, दर खानेहरुको जमघट, तीजका गीत र नाचगानले गाउँदेखि सहरसम्मको वातावरण रंगीन बन्छ । विशेषगरी महिलाहरूको पर्वका रूपमा मनाइने तीज नेपाली समाजमा धार्मिक आस्था मात्र होइन, माइती र चेलीबेटीबीचको सम्बन्ध, भेटघाट, सुख–दुःख साटासाट र आत्मीयताको पर्वका रूपमा पनि स्थापित छ ।तीजसँग जोडिएको सबैभन्दा बलियो पक्ष हो माइतीको सम्झना । विवाहपछि पराइघर पुगेका चेलीबेटीका लागि तीज माइती फर्किने, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीसँग भेट्ने र केही समय आफ्ना पीडा र खुसी साट्ने अवसरका रूपमा लिइन्छ । परम्परागत नेपाली समाजमा यातायात र सञ्चारका साधन सहज नभएका बेला वर्षमा एकपटक भए पनि माइती पुग्ने अवसर तीजले जुटाउँथ्यो । त्यसैले तीज केवल एउटा धार्मिक पर्व नभई पारिवारिक सम्बन्धलाई जोड्ने सामाजिक अवसर पनि बन्दै गयो । तीजको अर्को महत्वपूर्ण पक्ष हो–महिलाले आफ्ना भावना गीतमार्फत व्यक्त गर्ने परम्परा । दुःख, पीडा, प्रेम, पारिवारिक सम्बन्धदेखि सामाजिक विकृतिसम्मका विषय तीजका गीतमा समेटिँदै आएका छन् । नाचगान र गीतका माध्यमबाट महिलाले आफ्ना अनुभव सार्वजनिक गर्ने भएकाले तीजलाई महिला अभिव्यक्तिको एउटा सांस्कृतिक माध्यमका रूपमा समेत हेर्ने गरिन्छ । तर समयसँगै तीज मनाउने शैलीमा ठूलो परिवर्तन आएको छ । पहिले सीमित दिन र पारिवारिक जमघटमा केन्द्रित तीज अहिले महिनौँअघिदेखि सुरु हुने कार्यक्रम, पार्टी, दर खाने भोज र सामाजिक जमघटसम्म फैलिएको छ । सामाजिक सञ्जालले यसको दृश्यता अझ बढाएको छ । रातो साडी र गहनाको प्रदर्शनदेखि महँगा दर पार्टीसम्म आइपुग्दा तीजको मौलिकता, खर्चिलो संस्कृति र भड्किलोपनबारे बहस पनि सुरु भएको छ । यता नयाँ पुस्ताका लागि तीजको अर्थ पनि केही फरक हुँदै गएको छ । माइती जान अब चाड नै कुर्नुपर्ने अवस्था छैन । यातायात सहज छ, मोबाइल र भिडियो कलले टाढा रहेका आफन्तलाई पनि क्षणभरमै नजिक ल्याइदिन्छ । महिलाको जीवनशैली र सामाजिक भूमिकामा आएको परिवर्तनले तीज मनाउने पुरानो ढाँचालाई पनि प्रभावित गरेको छ । यही बदलिँदो परिवेशमा तीजलाई कलाकारहरूले कसरी हेरेका छन् ? उनीहरूका लागि तीज बाल्यकालको रातो साडी र दरको सम्झना हो कि माइतीसँगको आत्मीय सम्बन्ध ? परम्परा जोगाउने पर्व हो कि समयसँगै बदलिँदै गएको उत्सव ? तीजको मौलिकता, आस्था र आधुनिकताबीचको यो बहसमा कलाकारहरूको अनुभव र धारणा रोचक छन् ।

‘तीज भन्नेबित्तिकै रातो साडी र दर सम्झिन्छु’

अभिनेत्री आँचल शर्माका लागि तीजको पहिलो सम्झना रातो साडी र दरसँग जोडिएको छ । बाल्यकालमा घरअगाडि चौरमा मानिसहरूको आवतजावत हेर्दै बिताएका दिन सम्झिँदै उनी तीजलाई रंगीन पर्वका रूपमा सम्झिन्छिन् । उनी भन्छिन्, ‘रातो साडी देखेर हुर्किएको जस्तो लाग्छ । घर अगाडि चौर थियो । हामी घरको झ्यालमा बसेर मानिसहरुको ओहोरदोहोर हेरेर टाइमपास गरिरहन्थ्यौँ बच्चा हुँदा अरुका काम पनि हुँदैन थियो । त्यतिबेला रातो साडी एकदम कलरफुल पहिरन लाग्दथ्यो । ममीहरूले मिठोमसिनो खाने दिनलाई दर खाने भन्नुहुन्थ्यो । त्यसैले तीज भन्नेबित्तिकै रातो साडी र दर दिमागमा आइहाल्छ ।’ उनका अनुसार तीज भन्नेबित्तिकै उनको दिमागमा रातो साडी र दरको दृश्य आइहाल्छ । आमाहरूले ‘दर खाने’ भनेको सुन्दै हुर्किएको अनुभव उनका लागि तीजको अभिन्न स्मृति बनेको छ । तर आँचल आफू भने तीजमा व्रत बस्दिनन् । व्रत बस्ने सोच्नासाथ बिहानैदेखि भोक लाग्ने भएकाले व्रत आफ्ना लागि नभएको उनको ठट्टा मिसिएको धारणा छ । नेपाल न्यूज बैंकसँगको कुरा गर्दै उनले भनिन्, ‘व्रत म बस्दिनँ । जुन दिन व्रत बस्छु भनेर सोच्छु भोक लागिहाल्छ । अरूबेला भोक लाग्दैन तर जब व्रत बस्नपरो भनेर। भनेर सोच्छु नि बिहान ९ बजेदेखि नै भोक लाग्छ । भोक लागेको लाग्यै लागेको लाग्यै गर्छ । त्यसैले व्रत मेरा लागि होइनजस्तो लाग्छ ।’ उनी तीजको ऐतिहासिक पक्षलाई महिलाका लागि आफूलाई अभिव्यक्त गर्ने र माइतीसँग जोडिने अवसरका रूपमा बुझ्छिन् । पहिले यातायात र सञ्चारका साधन सहज नभएका कारण वर्षमा एकपटक माइती जाने अवसरका रूपमा तीजको परम्परा विकसित भएको हुनसक्ने उनको बुझाइ छ । आज परिस्थिति बदलिएको छ । माइती जान चाड नै कुर्नुपर्ने अवस्था छैन । तर त्यससँगै तीजको सांस्कृतिक महत्त्व भने हराउन नहुने उनको धारणा छ । उनी तीजमा रातो साडी लगाएर चिटिक्क परेर माइती जान चाहन्छिन् । पञ्चमी पूजाका केही पक्ष भने आफ्नो विश्वास प्रणालीसँग मेल नखाने भएकाले आफू त्यसमा त्यति रुचि नराख्ने बताउँछिन् । तर अरूले श्रद्धापूर्वक व्रत बसेको देख्दा त्यसलाई उनी सम्मान गर्छिन् । उनका लागि त्यो आस्था र विश्वासको सुन्दर अभिव्यक्ति हो । ‘महिलाको चाड’ भएकाले तीजमा महिलाले आफ्नो इच्छाअनुसार रमाउन पाउनुपर्ने उनको धारणा छ । तर परिवर्तनका नाममा विकृति भित्रिन नहुनेमा उनी सचेत छिन् । परम्परा परिवर्तन हुँदै जाँदा त्यसको मूल भावना नै हराउन नहुने उनको जोड छ ।

‘तीजको नाममा पार्टी गर्ने चलनले नेपालीपन बिगार्यो’

कलाकार जानुका विश्वकर्मालाई तीजप्रति त्यस्तो ‘वाउ’ अनुभूति नभए पनि नेपाली महिलाको महान् चाड भएकाले यसको आफ्नै महत्त्व रहेको छ भन्ने लाग्छ । तर उनलाई अहिलेको तीज मनाउने शैलीप्रति असन्तुष्टि छ । उनका अनुसार पहिले तीजमा सादगी थियो, आमाले बनाएको खीर खाने, माइती जाने, दाजुभाइ र दिदीबहिनीसँग भेटघाट गर्ने र रमाइलो गर्ने प्रचलन थियो । अहिले भने तीजको नाममा महिनौँअघिदेखि कार्यक्रम, पार्टी र प्रदर्शन सुरु हुने गरेकोमा उनी प्रश्न उठाउँछिन् । उनका लागि तीजको मूल अर्थ नै माइती जानु र परिवारसँग समय बिताउनु हो । रातो साडी र गहनालाई उनी नेपाली महिलाको सौन्दर्य र संस्कृतिसँग जोडिएको मान्छिन् । तर त्यसैलाई ‘तीज पार्टी’को प्रदर्शनमा सीमित गर्दा पर्वको मौलिकता हराउने उनको भनाइ छ । उनले भनिन्, ‘मेरा लागि तीज त्यस्तो ‘वाउ’ त लाग्दैन । तर हिन्दुहरुको महान् चाड हो, त्यसलै राम्रो लाग्छ । तर देखावटीतिर नलागौँ । पहिला सादगी तरिकाले मनाइन्थ्यो । आमाले बनाएको खीर खाने अनि माइतमा गएर आराम गर्ने वा हासखेल गर्ने चलन थियो । अहिले एक–दुई महिना अगाडिदेखि नै मनाउने चलनले कल्चर बिग्रियो अनि नेपालीपन नै बिग्रियो ।’

‘गाउँको तीजको रमाइलो नै बेग्लै’

अभिनेता कुशल बिष्टका लागि तीजको सम्झना गाउँसँग जोडिएको छ । काठमाडौंमा फ्ल्याटमा बस्ने र अविवाहित भएकाले तीजमा आफ्नो मुख्य काम नै चोकचोकमा भइरहेका नाचगान हेर्नु भएको उनी बताउँछन् । गाउँमा हुँदा भने तीजको वातावरण नै फरक हुने उनको अनुभव छ । गाउँमा सबैजना परिचित हुने भएकाले चाडपर्वको सामूहिक रमाइलो बढी महसुस हुने उनी बताउँछन् । उनले भने,‘म यतिबेला काठमाडौँमा फ्ल्याटमा बस्छु, अनम्यारिड छु । त्यसैले तीजका बेला मेरो काम भनेको चोकचोकमा कोही नाचिरहेका छन् भने हेर्ने मात्र हो । आफूले चाहिँ कहिलै मनाएको छैन । किनभने काठमाडौंमा भन्दा गाउँमा रमाइलो हुन्थ्यो । काठमाडौंमा रमाइलो लाग्दैन् ।’ काठमाडौंमा पनि तीजका बेला सहर रातो हुने गरेको उनी सम्झिन्छन् । सडक र चोकमा रातो साडी लगाएका महिलाहरू नाचिरहेका दृश्यले सहरलाई नै तीजमय बनाउने उनको भनाइ छ । उनी भन्छन्,‘काठमाडौंमा पनि तीजका बेला सहर नै रातोमय हुन्छ । सबैजना रातो साडी लगाएर नाचिरहेका हुन्छन् । हाम्रो एउटा सिरियलमा पनि त्यस्तै गरेका थियौँ । केटाहरूलाई पनि नाच्न मन लाग्छ, हामी पनि साडी लगाएर नाचेका थियौँ ।’ तर तीज गीतको बदलिँदो स्वरूपप्रति भने उनको टिप्पणी छ । पुराना तीज गीतको मिठास सम्झिँदै उनी पछिल्ला केही गीतमा अश्लीलता र भड्किलोपन बढेको बताउँछन् । यद्यपि, त्यसकै आधारमा समग्र तीज नै परिवर्तन भएको निष्कर्ष निकाल्न नहुने उनको धारणा छ । उनले भने, ‘पहिलाका तीज गीतहरू मिठा हुन्थे । अहिले केही गीत यस्ता आउँछन्, जसले तीजको भाका नै होइन कि जस्तो लाग्छ । यस्ता गीत कहाँ बजाउन मिल्छ र भन्ने लाग्छ । अलि भल्गारिटी र छाडापन बढी भएका गीतहरूका कारण पहिलाजस्तो तीज रहेन भन्ने लाग्छ । तर जसले राम्रोसँग तीज मनाउँछन्, उहाँहरूका लागि तीजमा त्यस्तो परिवर्तन आएको छैन । दुई–चारवटा गीत त्यस्ता आएका मात्र हुन् ।’ यसपटक देशको पछिल्लो परिस्थितिले धेरैको मन भारी रहे पनि वर्षौँदेखि चलिआएको चाडलाई आफ्नो क्षमताअनुसार मनाउनुपर्ने उनको आग्रह छ । दुःखका दिन आइरहने भन्दै सुख पनि बाँड्नुपर्ने उनको सन्देश छ । ‘यसपालि देशको परिस्थितिले गर्दा धेरैको मन भारी छ । कतिले मनाउनुहुन्छ, कतिले मनाउनुहुन्न, त्यो आफ्नै ठाउँमा छ । तर जे हुनु थियो भइगयो । अब धेरै टेन्सन नलिएर भगवानको आराधना गरौँ, आफ्नो मनलाई खुसी राखौँ । वर्षौँदेखि चलिआएको तीज पनि हो, आफूलाई जति सहज हुन्छ त्यही हिसाबले मनाउनुपर्छ । दुःखका दिन आइरहन्छन्, सुख पनि बाँड्नुपर्छ,’ उनले भने ।

‘कल्चर हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो’

अभिनेता महेश त्रिपाठी तीजलाई केवल मनोरञ्जनको पर्वका रूपमा मात्र हेर्दैनन् । उनी यसलाई नेपाली समाजको सांस्कृतिक सम्पत्तिका रूपमा बुझ्छन् । भोटेकोशी बाढीको घटनापछि समाजको मन भारी भए पनि जीवन अगाडि बढाउनैपर्ने उनको धारणा छ । त्यसैले यसपटक तीजलाई पनि बिस्तारै सामान्य जीवनतर्फ फर्किने एउटा माध्यमका रूपमा हेर्नुपर्ने उनी बताउँछन् । उनले भने, ‘भर्खरै एउटा दुःखद घटनाबाट गुज्रिएका छौँ । हाम्रा घरहरूमा त्यो दुःखको क्षण भर्खरै प्रवेश गरेर गएको छ । तर जीवनको नियति नै के हो भने हामी मुभअन हुनुपर्छ, अगाडि बढ्नुपर्छ । दुःख, कष्ट र समस्यासँग लड्दै त्यसलाई पार गर्दै जानुपर्छ । त्यसबाहेक हामीसँग विकल्प पनि छैन ।’ उनका अनुसार चाडपर्वको सौन्दर्य महँगो लुगा, गहना वा ठूलो खर्चमा होइन, भावनामा हुन्छ । आर्थिक बोझ बढाएर पर्वलाई ‘भव्य’ बनाउनु आवश्यक छैन । ‘भड्किलो’ होइन, सुन्दर र अर्थपूर्ण तीज मनाउनुपर्ने उनको भनाइ छ । संस्कृतिको निरन्तरता भने रोक्न नहुने उनी बताउँछन् । उनले भने, ‘यसपाली तीजको योजना चिसिएको र दुःखेको मनलाई हँसाउने, इन्टरटेन गराउने किसिमले हुनुपर्छ । तर चाडपर्व मनाउने नाममा धेरै भार बोक्नुपर्छ भन्ने होइन । कसैले नसकी–नसकी गर्छ भने त्यो ठीक भएन, तर आफ्नो क्षमताअनुसार गर्छ भने ठीकै हो । कहिलेकाहीँ समाजका उदाहरणीय व्यक्तिहरूले धेरै भड्किलो ढंगले प्रस्तुत भइदिंदा अरूलाई पनि त्यसको प्रेसर र देखासिकी पर्न सक्छ । त्यसैले तीजलाई भड्किलो होइन, सुन्दर बनाउनुपर्छ ।’ महेशका अनुसार तीजको मूल मर्म चेलीबेटी र जन्मस्थानबीचको सम्बन्धमा छ । पहिले यातायात र सञ्चारको अभावका कारण वर्षमा एकपटक भए पनि माइती पुग्ने अवसरका रूपमा यसको परम्परा विकास भएको हुन सक्छ । तर अहिले भिडियो कल र सहज यातायातले दूरी घटाइदिएको छ । विदेशमा रहेका आफन्तसँग पनि क्षणभरमै कुराकानी गर्न सकिने अवस्था आएको छ । यसले चाडपर्वको आवश्यकता केही हदसम्म घटाएजस्तो देखिए पनि त्यसलाई अब सांस्कृतिक र सामाजिक सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने उनको धारणा छ । उनले भने, ‘हाम्रो कल्चर नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । तीज हजारौँ वर्षसम्म नेपाली रहुन्जेल रहिरहनुपर्छ । यसको मूल मर्म भनेको चेलीबेटीको आफ्नो जन्मस्थानसँगको सम्बन्ध हो । पहिला यातायात र सञ्चारको अभाव थियो, त्यसैले वर्षमा एकपटक भए पनि माइती आउन पाउने अवसरका रूपमा यो परम्परा सुरु भएको होला । अहिले प्रविधिले दूरी घटाइदिएको छ । विदेशमा गएको मान्छेलाई पनि भिडियो कलमा तत्काल भेट्न सकिन्छ । तर त्यसले हाम्रो चाडपर्वको सांस्कृतिक महत्त्वलाई ओझेलमा पार्नु हुँदैन । अब तीजलाई आवश्यकता मात्र होइन, हाम्रो संस्कृति र सामाजिक सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्छ ।’

‘पहिलाजस्तो तीजको माहोल छैन’

अभिनेत्री मेनुका माझीको तीजसँगको सम्बन्ध पनि बाल्यकालको उत्साहसँग जोडिएको छ । साडी लगाउनेभन्दा पनि तीजमा नाच्न पाइने भएकाले आफू निकै उत्साहित हुने उनी सम्झिन्छिन् । उनले भनिन्, ‘पहिले पहिले तीज एकदमै रमाइलो लाग्थ्यो । साडी लगाउनेभन्दा पनि तीजमा नाच्न पाइन्छ भनेर एकदमै एक्साइटेड हुन्थेँ । दसैँमा त्यस्तो इनर्जी फिल नहुने, तर तीज भन्नेबित्तिकै अर्कै किसिमको उत्साह हुन्थ्यो ।’ तर पछिल्ला सात–आठ वर्षमा तीजप्रतिको आफ्नो उत्साहमा परिवर्तन आएको उनी बताउँछिन् । पहिले जस्तो ‘के लगाउने, कसरी मनाउने’ भन्ने उत्साह अहिले छैन । व्यस्तता पनि यसको एउटा कारण हुनसक्ने उनको बुझाइ छ । उनले भनिन्, ‘तर अहिले सात–आठ वर्ष भयो होला, पहिलाजस्तो तीजको माहोल छैन । तीज आयो भन्ने त लाग्छ तर पहिला जस्तो यो लुगा लगाउँछु, यसरी मनाउँछु भन्ने खालको इन्ट्रेस्ट चाहिँ छैन । कामको व्यस्तताले पनि होला, अहिले त्यति धेरै इम्पोर्टेन्स दिएको जस्तो लाग्दैन ।’ मेनुका तीजको समय र परम्परालाई लिएर पनि आफ्नै दृष्टिकोण राख्छिन् । उनको विचारमा जुन चाड जुन समयमा मनाउने हो, त्यसैको समय र मूल भावनालाई सम्मान गर्नुपर्ने उनको भनाई छ । ‘तीज भनेको भदौको अन्तिमतिर आउने चाड हो भनेर बुझिरहेका हुन्छौँ । तर अहिले साउनमै मनाउने चलन पनि छ । सबैको आ–आफ्नो सोच र दृष्टिकोण हुन्छ, त्यसैले कसैले यस्तो किन गरिस् भनेर भन्न पनि मिल्दैन । जसलाई जे मन लाग्छ, त्यसरी मनाउने हो । तर जुन चिज जुन समयमा हो, त्यसलाई त्यही समयमा फलो गरेर मनायो भने सबै चाडपर्व अझ राम्रो हुन्छ जस्तो लाग्छ ।’ तर कसैले फरक तरिकाले मनाउँदैमा आलोचना गर्न नहुने उनको धारणा छ । परम्परा र व्यक्तिगत रुचिबीच सन्तुलन आवश्यक रहेको उनी बताउँछिन् ।

रातो साडीभन्दा परको तीज

कलाकारका अनुभवहरू फरक छन्, तर उनीहरूका भनाइमा एउटा साझा भनाई भेटिन्छ तीज बदलिएको छ । कसैका लागि रातो साडी र दर अझै पनि बाल्यकालको सबैभन्दा मीठो सम्झना हो । कसैले माइतीको आँगन सम्झिन्छ । कसैलाई गाउँको सामूहिक नाचगान । कसैले आधुनिक शैलीमा आएको भड्किलोपनप्रति चिन्ता व्यक्त गरेका छन् भने कसैले समयसँगै आएको परिवर्तनलाई स्वाभाविक मानेका छन् । तीजको स्वरूप बदलिँदै जाँदा यसको मूल मर्म भने के हो भन्ने प्रश्न झन् महत्त्वपूर्ण बनेको छ । माइतीसँगको सम्बन्ध, दिदीबहिनीको भेटघाट, दुःख–सुख साटासाट, आस्था, नाचगान र केही समय आफ्ना लागि निकाल्ने अवसर सायद तीजको मूल भावना यिनै कुराको संगम हो । समय फेरिएको छ । दूरी घटेको छ । महिलाको सामाजिक भूमिका फेरिएको छ । चाड मनाउने तरिका पनि फेरिएको छ । तर परिवर्तनका बीचमा संस्कृतिको आत्मा जोगाउनु नै आजको तीजको सबैभन्दा ठूलो चुनौती देखिन्छ । रातो साडी लगाउने कि नलगाउने, व्रत बस्ने कि नबस्ने, दर खाने कि नखाने यी व्यक्तिगत रोजाइ हुन सक्छन् । तर तीजले बोकेको सम्बन्ध, भावना र सांस्कृतिक स्मृतिलाई कसरी जोगाउने भन्ने प्रश्न भने सामूहिक हो । सायद त्यसैले आजको तीजको अर्थ केवल ‘पहिले जस्तो’ बनाउनु होइन, बदलिँदो समयसँगै त्यसको सुन्दरता र मूल भावना बचाइराख्नु हो ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार