सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ । सेवाबाट हटाउनुको कारणबारे गृहमन्त्रीको सचिवालयले चारबुँदे स्पष्टीकरण सार्वजनिक गरेको छ । सचिवालयले दाहाललाई आचरण उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा विभागीय कारबाही गरिएको जनाएको छ । स्पष्टीकरणमा दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गृहमन्त्रीले गरेको उल्लेख छ ।
यस्तो छ चारबुँदे प्रष्टीकरण सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लङ्घन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मान प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा मिति २०८३ असोज २३ गतेबाट लागू हुने गरी गृह मन्त्रीले निजलाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरेको । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा गृह मन्त्रीले सशस्त्र प्रहरी ऐन तथा नियमावलीले प्रदान गरेको अधिकार प्रयोग गरी उच्च तहका सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचरण पालना नगरेको अवस्थामा विभागीय कारवाही गरेको। गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरू माथि गृह मन्त्रीले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेका छन्। कानून विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने र विधिको शासन, कानूनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय सदैव प्रतिबद्ध रहेको ।