पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान 

बुधबार, कात्तिक १६, २०७९

लेखनाथ । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हँुदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ ।  भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले डोजर लगाउन सुरु गरेको हो । सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले दुई महिना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन सुरु गरिएको जानकारी महानगर प्रमुख धनराज आचार्यले दिए ।
भूमिगत पार्किङका लागि भनेर यसअघि महानगरपालिकाबाट कर छुट लिएर निर्माण गरिएका ती भवन वषौँदेखि पार्किङकारूपमा नभई व्यापारिक प्रयोजनको रूपमा प्रयोग हुँदा महानगरले पटकपटक त्यस्ता सामग्री हटाउन आग्रह गर्दै आएको थियो । केही घरधनीले यसअघि नै व्यापारिक सामग्री खाली गरेका छन् भने अटेर गर्नेको घरमा डोजर लगाइएको प्रमुख आचार्यले जानकारी दिनुभयो । भूमिगत पार्किङ धेरै मात्रामा चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, सृजनाचोक, पृथ्वीचोक र लेकसाइडमा रहेका छन् । 
अटेर गरेको भन्दै महानगरले पोखराको चिप्लेढुङ्गास्थित आरके बिल्डिङ र महेन्द्रपुलस्थित गरिमा विकास बैंक भएको भवनमा डोजर लगाएको छ । महानगर क्षेत्रमा दुई सय बढी घर भूमिगत पार्किङ भएका भवन रहेको जानकारी प्रमुख आचार्यले दिए । ती पार्किङलाई पार्किङका रूपमा प्रयोग गर्न सके पोखराको सडकमा अव्यवस्थित पार्किङ र ट्राफिक जामलाई केही हदसम्म कम गर्न सकिने भनाइ प्रमुख आचार्यको छ । 

विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ 
पोखराको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । दुर्लुङ समाज पोखराले धार्मिक विन्ध्यवासिनी मन्दिर परिसरमा आज सरसफाइ गरेको हो । पर्वत जिल्लाको साविक दुर्लुङ घरभई पोखरामा बसोबास गर्दै आएका व्यक्तिद्वारा गठित दुर्लुङ समाज पोखराले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर मन्दिर परिसरमा सरसफाइ गरेको हो । 
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भक्तजनहरूको सहयोग र सद्भावबाट मन्दिरको विकासमा सहयोग पुगेको बताउनुभयो । मन्दिरमा संस्कृत पाठशाला सञ्चालनमा रहेको र छिट्टै आयुर्वेदिक अस्पताल समेत सञ्चालनमा ल्याइने भनाइ श्रेष्ठको छ । दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माले समाजको प्रथम स्थापना दिवसको अवसरमा माता विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गर्न पाउनु खुसीको विषय भएको बताए । समाजका सचिव ईश्वरी पौडेलले समाजले सामाजिक क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए ।
सरसफाइ कार्यक्रममा समाजका सल्लाहकारहरू उदीमबहादुर गुरुङ, समाजका उपाध्यक्ष कुलबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष टेकबहादुर विक, सहसचिव शिव पौडेल, रामबहादुर थापा, रवीन पोखरेल, राधा पौडेललगायतले सहभागिता जनाएका थिए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार