फूलपातीका अवसरमा इलामको पुरातात्विक तोप पुनः स्थापना

सोमबार, असोज १७, २०७९

फिक्कल । इलाममा रहेको पुरातात्विक महत्वको तोप पुनःस्थापना गरिएको छ । सदरमुकामस्थित माईस्थान मन्दिर परिसरमा रहेको दुईवटा तोपलाई फूलपातीको अवसर पारेर आइतबार राखिएको हो । यस ठाउँबाट २०५९ सालमा लगिएका तोप २० वर्षपछि पुनः स्थापित गरिएका हुन् । 
नेपाली सेनाका दुईवटा ट्रकमा राखेर बाजागाजा र झाँकीसहित इलाम बजार परिक्रमा गराएर तोपलाई पुनः स्थापित गरिएको हो । महिना दिनअघि इलाम ल्याइएका तोप गढीथुम्कास्थित नेपाली सेनाको रणशार्दूल गणबाट इलाम बजार, मालापथ, भानुपथ हुँदै टुँडिखेलसमेत परिक्रमा गराई माईस्थानमा राखिएका हुन् ।
लामो समयअघि यहाँ राखिएका तोप सशस्त्र द्वन्द्वको समयमा तत्कालीन श्रीनाथ पल्टनले असुरक्षाका कारण देखाउँदै ब्यारेक लगेको थियो । यसअघि पुनः स्थापित गरिएको नेपाली सेनाको गौरवमय निशानसमेत तोपसँगै इलाम बजार परिक्रमा गराइएको छ । इलाममा तोप पुनः स्थापित हुँदा इलामवासी हर्षित भएको इतिहासकार युद्धप्रसाद वैद्यले बताए । उनले इलामवासीले पटक–पटक माग गरेपछि बल्ल तोप इलाम फर्किएको बताए । 
उनले भने, “इलामको मात्रै होइन, देशकै पुरातात्विक महत्वको तोप इलाममा पुनः स्थापित गरिनु इलामका लागि ठूलो अवसर हो । अब माईस्थान क्षेत्र पुरातात्विक सम्पदा भएको छ ।” उनले तोप र निशानलाई इलामको पर्यटनसँग जोड्न सुझाव दिए । 
तोप दुई दशकअघि त्यहाँबाट उठाइएको थियो तर कहिलेदेखि माईस्थानमा राखिएको थियो भन्ने यकिन छैन । जानकारहरूका अनुसार यहाँ निशान स्थापना गरिनुअघि र पछि पनि आठ तोप थिए । त्यतिबेला इलाम दरबार, पुरानो सिडिओ कार्यालयको आँगनमा पनि तोप राखिएको थियो । नेपाल भू–भागको ऐतिहासिक लडाइँ र विजयसँग जोडिएको तोपले पुरातात्विक महत्व राख्ने भएकाले यो अमूल्य धरोहर भएको वैद्यले जनाए । 
माईस्थानमा रहेको नेपाली सेनाको गढी २०२७÷२८ सालतिर अहिलेको गढीथुम्कामा सारिएको थियो । दुई सयवर्षे इतिहास बोकेको निशान पनि २०७४ सालमा इलाम फर्काइएको थियो । सुगौलीको सन्धिपछि इलाम ल्याइएको श्रीनाथ पल्टनको निशान सशस्त्र द्वन्द्वकै क्रममा काठमाडौँ लगिएको थियो । यो निशानलाई नेपालको पूर्वी सीमा टिस्टा नदीसम्म पुगेका बेला त्यहाँ गाढिएको नेपाली सेनाको वीरताको प्रतीकका रूपमा लिइन्छ । निशान विशेष किसिमको झन्डाको रूप हो । यसलाई नेपाली सेनाले ‘शक्ति स्वरूपादेवी’ र ‘निशान भगवती’का रूपमा पूजा गर्ने गरेको छ ।
–रासस 
 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ०५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार