Dashain Banner
Dashain Banner

कामको ज्याला रोकिँदा मजदुरको धादिङबेसीमा बिचल्ली, स्थानीयको सहारामा काट्दैछन् दशैं

मंगलबार, कात्तिक ३, २०८३

धादिङ । काम गरेको ज्याला नपाउँदा पुल निर्माणको काम गर्दै आएका मजदुरहरु धादिङबेसीमा बिचल्लीमा परेका छन् । धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपलखोला माथी निर्माणाधीन पक्की पुलमा मजदुरी गर्दै आएका मजदुरहरु ज्याला नपाएकै कारण दशैंमा घर जानबाट पनि बन्चित भएका छन् । काम गरेबापत पाउनुपर्ने पैसा ठेकेदारले नदिँदा बाटो खर्चसम्म नभएर १२ जना मजदुर घर जानबाट रोकिन बाध्य भएका हुन् । चाडबाडमा परिवारसँग बसेर मिठो-मसिनो खाने र छोराछोरीलाई नयाँ लुगा किनिदिने सपना बोकेका उनीहरू अहिले स्थानीयले दिएको खाद्यान्नको भरमा छाक टारिरहेका छन् । "एक जनाको ३० हजार रुपैयाँभन्दा बढी लिन बाँकी छ । कुल ३६ जनामध्ये २४ जनाले सरसापट र घरबाटै पैसा मगाएर गए," सल्यानका अम्मर कार्कीले भने, "हामी १२ जनाको भने बिचल्ली भयो । घर पुग्न तीन दिन लाग्छ, बाटो खर्च मात्रै पाए पूर्णिमा अगाडि भए पनि पुगिन्थ्यो कि भन्ने आश छ ।" ठेकेदारले पैसा दिने आश्वासन दिँदै दिन ढाँट्ने गरेको उनले बताए । सल्यानकै सुशील खत्री र सुर्खेतका काशीराम विकको पीडा पनि उस्तै छ । "छोराछोरीले नयाँ कपडा र मिठो खानेकुरा ल्याउला भनेर बाटो पर्खिरहेका छन् । तर आफैं जाने भाडासम्म छैन," विकले भावुक हुँदै भने, "हामी मजदुरको चाहिँ दशैं नहुने हो र ? जसरी भए पनि घर जाने वातावरण बनाइदिनुपर्यो ।" पुल निर्माणमा खटिएका सल्यानका ७, बाँकेका २, सुर्खेतका २ र गोरखाका १ गरी १२ जना मजदुर हाल साविक नवदुर्गा आधारभूत विद्यालयको भवनमा बसिरहेका छन् । उनीहरूलाई पुल बगैँचाका स्थानीय बासिन्दाले खाद्यान्न सहयोग गरिरहेका छन् । निर्माण व्यवसायी राजन आले मगरले भने मजदुरहरू स्वयं घर नजाने निर्णय गरेकाले स्थानीयस्तरमै व्यवस्थापन गरिएको दाबी गरे । "सम्झौताअनुसार अर्का ठेकेदार श्याम बुढाथोकीले भुक्तानी नदिँदा समस्या भएको हो । धेरैलाई पैसा दिएर पठाइसकिएको छ," उनले भने, "उहाँहरूले भने जस्तो प्रतिव्यक्ति ३० हजार दिन बाँकी छैन । अहिले दशैंको मुखमा तुरुन्तै पैसा दिन सकिने अवस्था छैन ।" पूर्वाधार विकास कार्यालयअन्तर्गत निर्माणाधीन उक्त पुलका मजदुरको समस्याबारे धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले ध्यानाकर्षण भएको बताएकी छन् । "ठेकेदारसँग निरन्तर कुराकानी भइरहेको छ," प्रजिअ पाण्डेयले भनिन्, "मजदुरहरूलाई सहजरूपमा घर पठाउने वातावरण बनाउन पहल गरिरहेका छौँ ।"

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार