Dashain Banner
Dashain Banner

गत वर्षको तुलनामा यस वर्ष दशैँमा काठमाडौं उपत्यका छाड्नेको संख्या कम

हालसम्म ५ लाख ७६ हजारभन्दा बढी बाहिरिए
मंगलबार, कात्तिक ३, २०८३

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको संख्या घटेको छ ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५ सय ७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् । गत वर्ष ६ लाख ६० हजार ८ सय ४६ जनाले काठमाडाैं उपत्यका छाेडेका थिए । यस अवधिमा ७९ हजार ७ सय ७६ वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दशैंका कारण यतिबेला काठमाडौं उपत्यकामा सवारीसाधनको आवागमन न्यून छ । गत वर्षको तथ्यांकसँग तुलना गर्दा यस वर्ष उपत्यका छाड्नेको संख्या केही कम रहेको उनले बताए । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या केही कम रहेको देखिन्छ । घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५ सय ७८ जना सर्वसाधारणले उपत्यका छाडेका छन् । यस अवधिमा ७९ हजार ७ सय ७६ वटा सवारीसाधन बाहिरिएका छन् ।’ यसैबीच, ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ६२५ जनालाई कारबाही गरेको छ ।  त्यस्तै, लागुऔषध सेवन (लापसे) गरी सवारीसाधन चलाउने २६ जनामाथि पनि कारबाही गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार