ग्यास चुहिएर आगलागी

शुक्रबार, असोज १४, २०७९

झापा ।   मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ । 
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले खाना पकाउने एलपी ग्यास चुहिएर आगलागी हुँदा दसैँको मुखमा पीडित परिवार बिचल्लीमा परेको बताउनुभयो । आगलागीमा एक तलामा भएको चारकोठे पक्की घरभित्रका सबै सरसामान जलेर नष्ट भएका छन् । आगो निभाउन खोज्दा घरधनी राजवंशी घाइते भएका  छन्  । आगलागी भएको घरको भुइँतलामा पसल थियो भने घरभित्र रहेको मोटरसाइकल, फ्रिज, लत्ताकपडा, फर्निचर, भाँडावर्तन र खाद्यान्न डढेर नष्ट भएको प्रनाउ महतोले जानकारी दिए  । मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो निभाएका कारण थप क्षति हुन पाएन । घटना लगत्तै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडाध्यक्ष ललित तामाङ आगलागीस्थल पुगेर पीडित परिवारलाई राहतको आश्वासन दिएको  उपप्रमुखका स्वकीय सचिव लक्ष्मी उप्रेतीले जानकारी दिइन्  ।


 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार