नेपाल–भारत परराष्ट्र सचिव स्तरीय वार्ता उपलब्धिमूलक : भारत

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं । दुई मुलुकबीच कूटनीतिक संवादको लागि बाटो खुला गर्दै बिहीबार भएको नेपाल–भारत द्वीपक्षीय परराष्ट्रसचिव स्तरीय वार्ता काठमाडौंमा सकिएको छ । दुई पक्षीय विदेश सचिव स्तरीय वार्ताको बारेमा परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरी जानकारी दिनेछ । दुई पक्षीय विदेशसचिव स्तरीय वार्ता सकिएपछि भारतीय विदेशसचिव हर्षवर्धन श्रृंखला सिंहदरबार पुगेर उनले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटेका छन् । उनले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 
‘विदेश सचिवस्तरीय वार्ता उपलब्धिमूलक’
भारतले नेपाल–भारत विदेश सचिवस्तरीय वार्तालाई उपलब्धिमूलक भेटघाट भएको बताएको छ । दरबारमार्गस्थित याक एन्ड यति होटलमा दुई पक्षीय विदेश सचिव स्तरीय वार्तापछि भारतीय राजदूतावासको ट्वीटर ह्यान्डल ‘इन्डिया इन नेपाल’ बाट प्रतिक्रिया दिदै भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलले द्धीपक्षीय सहयोगको समीक्षा गरेको जनाएको छ । साथै, उनीहरु बीचमा आपसी हितका मुद्दाहरुमा छलफल गरेको जनाएको छ ।

सम्बन्ध कसरी बढाउने भनेर कुरा गर्छौं ः श्रृंगला
भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो दुईदिने नेपाल भ्रमणमा दुई देशबीचको सम्बन्ध थप कसरी अघि बढाउने भन्नेबारे कुरा गर्ने बताएका छन् । त्रिभुवन विमानस्थलमा बिहीबार उनले सञ्चारमाध्यमसँग भने, ‘हाम्रो सम्बन्धलाई कसरी अघि बढाउने भन्नेबारे कुरा गर्छौं ।’ 
गत वर्ष कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेकोमा यही वर्षको सुरुमा नेपालले पनि आफ्नो नयाँ नक्सा जारी गरेपछि दुई मुलुकबीच विवाद बढेको थियो । विदेश सचिव श्रृंगलाले नेपालमा आउँदा अत्यन्तै खुसी लागेको भन्दै आफू पहिले पनि काठमाडौं आएको बताए । ‘तर विदेश सचिवका रूपमा मेरो यो पहिलो भ्रमण हो,’ उनले भने । श्रृंगलाले भारत र नेपाल निकटतम मित्र रहेको उल्लेख गर्दै दुईपक्षीय छलफलहरू गर्ने बताए ।
श्रृंगलाले शुक्रबार भर्चुअल माध्यमबाट भारत–नेपाल मैत्री विषयमा धारणा राख्नेछन् । शुक्रबार दिउँसो उनी गोरखा जानेछन् । जहाँ उनले भारत सरकारको सहयोगमा बनाइएका भूकम्पपीडितका घरको अवलोकन गर्नेछन् । त्यहाँ ५० हजार घर बनाइदिने प्रधानमन्त्री नरेन्द्र मोदीको वाचाअनुसार हालसम्म ४० हजार घर बनिसकेका छन् । श्रृंगलाले भारतको सहयोगमा बनाइएका तीनवटा विद्यालय र मनाङमा एउटा बौद्ध गुम्बाको उद्घाटन पनि गर्नेछन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार