सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा

बिहीबार, भदौ १८, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले भाद्र १० गते भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढीका कारण हजारौँ परिवार प्रभावित हुनुका साथै अर्बौँ रुपैयाँ बराबरका भौतिक संरचना ध्वस्त भएको बताइन् । उनले भनिन्,‘यही भाद्र १० गते भोटेकोशीमा आएको अकल्पनिय र प्रलयकारी बाढीका कारण आज हजारौं परिवारको ‘अपूरणीय क्षति, अर्बौंका भौतिक संरचना ध्वस्त भएका छन् ।’ उनले बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नागरिक मात्रै नभई सिंगो देश र नेपालीले पीडा भोग्नुपरेको बताइन् । बाढीले नागरिक र भौतिक संरचनासँगै हजारौँ नागरिकका सपना समेत बगाएको उनको भनाइ थियो । उनले भनिन्,‘यो केवल रसुवा, नुवाकोट, धादिङको मात्र पीडा नभएर सिंगो नेपाल र नेपालीको पीडा हो । बाढीले केवल हाम्रा नागरिक र भौतिक संरचना मात्र बगाएको छैन । हजारौं सपनाहरु पनि सँगै बगाएको छ ।’ शर्माले पर्यटक तथा रोजगारीका लागि देशका विभिन्न जिल्लाबाट उक्त क्षेत्रमा पुगेका नागरिकसमेत बेपत्ता भएको बताइन् । उनका अनुसार बागलुङका मात्रै १६ जना अझै बेपत्ता छन् । बेपत्ता आफन्तको खोजीमा परिवारजन घाम, पानी, भोक र निद्राको समेत पर्वाह नगरी अस्पताल तथा शवगृहमा भौँतारिनुपरेको उनले बताइन् । उनीहरूले आफन्तको तस्बिर टाँसेर खोजी गरिदिन आग्रह गरिरहेको पनि शर्माले उल्लेख गरिन् । उनले भनिन्, ‘पर्यटक र रोजगारीका लागि धेरैजसो जिल्लाबाट त्यस क्षेत्रमा गएका नागरिकहरू आज हराइरहेका छन्। बागलुङका १६ जना अझै बेपत्ता छन्। बागलुङका मात्र होइन, देशैभरबाट आएका आफन्तहरू कि सास, नभए लास पनि पाउने आशामा घाम, पानी, भोक, निद्रा केही नभनी बसेका छन्। आँखामा झिनो आशा र त्रास बोकेर अस्पताल र शवगृहहरूमा आफ्ना आफन्तका फोटोहरू टाँसेर खोजिदिन याचना गर्दै भौँतारिरहेका छन् ।’ सरकारलाई विपद्को अवस्थामा साथ रहेको बताउँदै उनले उद्धारमा भइरहेको ढिलाइप्रति प्रश्नसमेत उठाइन् । ‘अन्तरिक्षमा समेत गएर जीव विज्ञानको खोजी गर्ने आजको युगमा एउटा मामुली सुरुङभित्र फसेका नागरिकहरूको उद्धार गर्ने प्रविधि छैन भन्ने प्रधानमन्त्रीको भनाइ सरासर झुट र लज्जाजनक भएन र ?’ उनले प्रश्न गर्दै भनिन् । शर्माले सुरुङमा फसेका नागरिकको उद्धारका लागि उपलब्ध प्रविधि र स्रोतसाधनको प्रभावकारी परिचालन गर्न सरकारसँग माग गरिन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार