भोटेकोशी बाढी

मृतकका परिवारलाई प्रतिव्यक्ति २५ हजार, शव व्यवस्थापनमा तीन करोड

शनिबार, भदौ १३, २०८३

काठमाडौं । बागमती प्रदेश सरकारले रसुवा बाढीमा परी ज्यान गुमाएकाको अन्तिम संस्कारका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै विपद्को यस घडीमा पीडित पक्षलाई राहत, उद्धार गर्न र सडक, पुललगायतका भौतिक संरचना निर्माणलाई प्राथमिकता दिने बताए । उनले भदौ १० गतेदेखि १२ गतेसम्म तीन दिन मुख्यमन्त्रीको नेतृत्वमा मन्त्रीसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई उच्च प्राथमिकता राखेको जानकारी दिए । मुख्यमन्त्री थापामगरले भने, “भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई प्रतिमृतक रु। २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि प्रदेश सरकारले अस्थायी बसोबास तथा भोजनको व्यवस्था गरेको छ ।” उद्धार र राहतलाई छिटो र प्रभावकारी बनाउन बाढीबाट सकुशल उद्धार गरिएका प्रभावित व्यक्ति तथा सनाखत भएका शव सम्बन्धित ठेगानासम्म पुर्‍याउन लाग्ने खर्च पनि बागमती प्रदेश सरकारले व्यहोर्ने उनले बताए । प्रदेश विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित पालिकाको विपद् व्यवस्थापन कोषमा रकम उपलब्ध गराउने र खर्च अभावका कारण पहिचान भएका शव पनि आफन्तले घर लैजान नसक्ने भए त्यसका लागि लाग्ने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने उनले स्पष्ट पारे ।  प्रदेश सरकारले यसका लागि रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित स्थानीय विपद् व्यवस्थापन कोषमा एक करोडका दरले रु। दुई करोड र धादिङ तथा चितवन जिल्लालाई ५० लाखका दरले तीन करोड रुपैयाँ उपलब्ध गराउने भएको उनले बताए । यसैगरी, गोसाईंकुण्ड, कैलाश मानसरोवर तथा अन्य धार्मिक यात्राका क्रममा अलपत्र परेका तीर्थयात्रीको सुरक्षित आवागमनका लागि दुई दिनदेखि निस्शुल्क बस सेवा सञ्चालन गराएको उनले बताए । बाढीका कारण त्रिशूली–धुन्चे सडक खण्ड, त्रिशूली–गल्छी हुँदै काठमाडौँ जोड्ने सडक अवरुद्ध भएका अवस्थामा वैकल्पिक सडक मार्ग खुलाइ यथाशीघ्र सञ्चालनमा ल्याउने काम गरेको, भदौ १० गते नै नुवाकोट विदुरस्थित विभिन्न चार स्थानमा अस्थायी आश्रय स्थल तथा खानाको प्रबन्ध गरेको र चार ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको मुख्यमन्त्रीले बताए ।  पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीले मुख्यमन्त्रीको टोली धुन्चे पुगेपछि ६०० लिटर डिजेल र पेट्रोलको व्यवस्थासहित स्थानीय अस्पताल, यातायात तथा टेलिकम टावर सञ्चालनमा ल्याएको बताए ।  उनले सडक मार्गमा रहेका ४० भन्दा बढी पुल भत्किँदा अवरुद्ध आवागमनको वैकल्पिक व्यवस्थाका रूपमा सम्भावित स्थानमा बेलिब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणका लागि आवश्यक स्थानको पहिचान गरी सोहीअनुसार व्यवस्था गरिने जानकारी दिए ।  नुवाकोटको छहरे, चौघडा, बाहुन बेँसी, नर्जामण्डप, लच्याङ, सरमथली पार्टीखर्क, हिल्चेकको पुल, भोर्ले, जिरोकिलो, पासाङल्हामु राजमार्ग हुँदै धुन्चेसम्मको वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिइएको मन्त्री केसीले बताए । प्रभावित क्षेत्रमा कार्यरत प्रदेश मातहतका सबै कर्मचारीलाई अर्को आदेश नभएसम्म कार्यस्थल नछोड्न र सार्वजनिक बिदाका दिन पनि निरन्तर उद्धार, राहत तथा पुनःस्थापनामा खटिन निर्देशन दिएको उनले बताए ।  

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार