सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित क्षेत्रको थ्रिडी इमेज तयार पारिएको छ । चीनले सिजाङ अर्थात तिब्बतमा पहिरो गएका क्षेत्रहरूको त्रि–आयामिक अर्थात थ्रिडी तस्बिर सार्वजनिक गरेको हो । चिनियाँ अधिकारीहरुले केरुङ सीमा बन्दरगाहमा शुक्रबार खोजी तथा उद्धार कार्य तीव्र पारेका छन् । उद्धारकर्मीहरूले मानिसहरूको ज्यान बचाउन समयसँग प्रतिस्पर्धा गर्दै उद्धार अभियानलाई तीव्रता दिएका हुन् । क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म पाँच जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् । बुधबार बिहान नेपालको भूभागमा गएको पहिरो केरुङ जिल्लास्थित केरुङ बन्दरगाहमा पुगेपछि उनीहरू बेपत्ता भएका हुन्। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको पहिचान भएको छ । राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनका अनुसार शुक्रबार बिहान १० बजेसम्म कुल ६८१ जना अग्नि तथा उद्धारकर्मी र ११३ वटा सवारीसाधन दुर्गम पहाडी सीमा क्षेत्रमा पुगिसकेका छन् । साथै, ६ हजार ६१२ थान उद्धार उपकरण तथा रसद सामग्री केरुङ गाउँमा पठाइएको छ । पहिलो चरणमा १४१ जना उद्धारकर्मी र उच्च उचाइमा उड्न सक्ने एक हेलिकोप्टर बिहीबार बिहान बन्दरगाहमा पुगेका थिए। त्यसपछि चीन खोज तथा उद्धार टोलीका थप १११ जना उद्धारकर्मी बिहीबार दिउँसो केरुङ जिल्लामा पुगेका थिए । अग्नि तथा उद्धारकर्मीहरूले खोज तथा उद्धारका लागि तीनवटा विशेष टोली गठन गरेका छन् । तीमध्ये एउटा टोलीले जलमार्गमा रबरका डुंगा प्रयोग गरेर, अर्कोले पहाडी भूभागमा पैदल यात्रा गरेर तथा तेस्रोले ड्रोनमार्फत हवाई निरीक्षण र राहत सामग्री आपूर्ति गर्ने गरी काम गरिरहेका छन् । एक टोलीलाई मुख्य विपद् प्रभावित क्षेत्रमा पठाइएको छ । उक्त टोलीले ड्रोन र दूरबीनको प्रयोग गरी घटनास्थल तथा बनेको तालको नक्साङ्कन, निरीक्षण र लक्षित निगरानी गरिरहेको छ। आपत्कालीन व्यवस्थापन मन्त्रालयअन्तर्गतको सांघाई अग्नि अनुसन्धान संस्थानका १३ जना विशेषज्ञ पनि घटनास्थलमा पुगेका छन् । राज्य स्वामित्वको इन्जिनियरिङ तथा उद्धार कम्पनी चाइना एनेङले शुक्रबार १५ सदस्यीय टोली परिचालन गरेको छ । टोलीले अवरोध तथा आसपासका सडकको स्थलगत सर्वेक्षण गर्न ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेसन र मोबाइल निगरानी क्यामेरा प्रयोग गरिरहेको छ । यसको उद्देश्य बनेको तालसम्बन्धी जोखिम व्यवस्थापनका लागि आवश्यक प्रयासमा सही तथ्यांक उपलब्ध गराउनु हो । उद्धारकर्मीहरूका अनुसार बन्दरगाहभन्दा करिब ३ किलोमिटर माथिल्लो क्षेत्रमा थुप्रिएको ढुंगामाटो अवरोधका कारण बनेको जोखिम समाधान भएपछि मात्र सुरक्षित रूपमा हटाउन सकिनेछ।(सीसीटीभीप्लस)