सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को अवस्थाबारे करिब तीन घण्टा गम्भीर समीक्षा गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदिश खरेलले सरकारले सीमित स्रोत–साधनका बाबजुद खोजी, उद्धार र राहतमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए । उनका अनुसार बैठकमा सरकारमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछि सरकारले गरिरहेको काम र कार्यप्रगतिबारे जानकारी गराएका थिए । अब खोजी, उद्धार र राहतसँगै पुनस्र्थापनाको कामलाई पनि अगाडि बढाउने तयारीबारे बैठकमा जानकारी गराइएको खरेलले बताए । खरेलले भने, ‘यो बैठक सम्पूर्ण रूपमा महत्त्वपूर्ण र गम्भीर हिसाबले अहिलेको तत्कालको भोटेकोशी बाढी र यसले निम्त्याएको राष्ट्रिय शोक, यो विपद्कै सन्दर्भमा केन्द्रित भएको छ। हामीले यो विपद्, भोटेकोशी बाढी र यसपछाडि खोजी, उद्धार र राहतको सन्दर्भमा पार्टीमा गम्भीर समीक्षा गरेका छौँ ।’ उनका अनुसार हालसम्म सरकारले स्थापना गरेको कोषमा करिब ८ अर्ब रुपैयाँ सहयोग सङ्कलन भएको छ । त्यसमध्ये १ अर्ब रुपैयाँभन्दा बढी रकम प्राधिकरणलाई पठाइएको र प्राधिकरणमार्फत ६ करोड रुपैयाँभन्दा बढी रकम प्रभावित स्थानीय तहमा पठाइएको जानकारी बैठकमा दिइएको छ । रास्वपाले खोजी, उद्धार र राहतमा सरकारले गरेको कामप्रति धन्यवाद दिँदै अझै प्रभावकारी रूपमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रभावित क्षेत्रमा राहत पु¥याउने, बेपत्ताको खोजीलाई निरन्तरता दिने तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा बैठकले जोड दिएको छ । खरेलले भने, ‘पार्टीले सरकारलाई धन्यवाद दिएको छ, सन्तोष व्यक्त गरेको छ र अझै प्रभावकारी बनाउनुपर्छ, अझै हामीले राहतलाई प्रभावित ठाउँसम्म पु¥याउनुपर्छ, अझै पनि खोजी जारी राख्नुपर्छ, अझै पनि उद्धारलाई कन्टिन्यु गर्नुपर्छ।’ रास्वपाले विपद्को कठिन परिस्थितिमा सरकारलाई आफ्नो निरन्तर र कसिलो साथ रहने निर्णय गरेको पनि उनले बताए । उनका अनुसार पार्टीले सङ्घीय सरकार मात्रै नभई तीनै तहका सरकारलाई आवश्यक सहयोग र साथ दिने निष्कर्ष निकालेको छ । यसैगरी, बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निकालिएका निष्कर्षबारे जानकारी गराएका थिए । सर्वदलीय बैठकमा विपद्को सामना गर्न राजनीतिक दलहरूबीच व्यक्त भएको ऐक्यबद्धताप्रति लामिछानेले धन्यवाद दिएको खरेलले बताए । रास्वपाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिएको छ । उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सन्दर्भमा लामो रूपमा, दीर्घकालीन रूपमा हाम्रो राजनीतिक र राष्ट्रिय सहमति कायम गरेरै लानुपर्छ भन्ने कुराहरू पनि सभापतिज्यूको यसमा जोड रहेको छ। र त्यसलाई पार्टीको सचिवालय बैठकले पनि आत्मसात् गरेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।’