चैत–वैशाखभर गोरखा दरबार संग्रहालय सबै दिन खुला हुने

मंगलबार, चैत ३, २०७७

गोरखा । आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार संग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुला हुने भएको छ । संग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मंगलबार तथा सार्वजनिक बिदाको दिन पनि खुला गर्ने निर्णय गरिएको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘यसअघि हरेक हप्ताको मंगलबार र सार्वजनिक बिदाको दिनमा संग्रहालय बन्द हुँदै आएको थियो’, उनले भने, ‘अब चैत र वैशाख महिनामा भने सबै दिन संग्रहालय खुल्ला रहनेछ ।’  संग्रहालयमा नेपाल एकीकरणका प्रणेता तत्कालीन राजा पृथ्वीनारायण शाहको चिनादेखि  शाह वंशका पालामा लडाइँ गर्दाका हातहतियार  छन् । पर्यटकले पुरातात्विक वस्तु, विभिन्न जातजातिका संस्कृति झल्कने सामग्री, पुराना सिक्का तथा भाँडावर्तन फोटो तथा चित्रकलाका साथै विभिन्न जातजातिका संस्कृति झल्कने आकृति संग्रहालयमा अवलोकन गर्न पाउँछन् ।  पर्यटकले सङग्रहालयभित्र रहेका तेल चित्रकक्ष, वंशावलीकक्ष, जन्मकुण्डली कक्ष, दिव्यउपदेश कक्ष, हातहतियार कक्ष, धार्मिक परम्परागत कक्ष, जनजातिको झाँकी कक्ष, परिचात्मक कक्ष, भडाँवर्तन कक्ष, श्रव्यदृश्य कक्ष, चैत्य कक्ष र हस्तलिखित गरी १२ वटा प्रदर्शनी कक्षको अवलोकन गर्न समेत पाउने छन् । विसं २०४३  मा गोरखा दरबार संरक्षित स्मारक क्षेत्रको घोषणा गरी सङग्रहालयलाई पृथ्वी स्मृति संग्रहालयको रुपमा विकास गर्ने योजना रहे पनि पछि पूरै जिल्लाको पहिचान दिने गरी गोरखा संग्रहालयका रुपमा विकास गरिएको थियो ।–रासस
 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार