सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहितको टोली नेपाल आइपुग्यो

मंगलबार, चैत ३, २०७७

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली आज नेपाल आइपुगेको छ । बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत सोमबार काठमाडौँ आइपुगेको आरोहण व्यवस्थापन गरिरहेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । काठमाडौँको मेरियट होटलमा पाँच दिन क्वारेन्टिन बसेपछि गोरखा गएर त्यहाँ पनि पाँच दिनको बसाइपछि काठमाडौँ फर्कने छ । त्यसपछि आरोहणको प्रक्रिया सकेर आरोही टोली सगरमाथा आधारशिविर जाने कार्यतालिका छ । यसअघि बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै उक्त टोली त्यहाँको समयानुसार बिहान सवा ९ बजे बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल प्रस्थान गरेको जनाएको थियो ।  आरोही टोलीमा बहराइन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद, मोहम्मद अल खालिफासहित बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी र तीन जना बेलायती नागरिक पनि छन् । यो टोली करिब ८० दिन नेपालमा रहनेछ । टोलीले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्ध लगाइने दुई हजार डोज अस्ट्राजेनेका खोप समेत सहयोगस्वरुप प्रदान गर्नेछ । टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरुणा घिसिङलगायत राजदूतावास परिवारले भेटेर सफलताको शुभकामना दिएको थियो । त्यस्तै बहराइनी पक्षबाट कमान्डिङ अफिसर अफ द रोयल गार्ड ट्रेनिङ स्कुल, ब्रिगेडियर साद घार्ली मुबारकले पनि शुभकामनासहित विदाइ गरेको जनाइएको छ ।  टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले पर्वतारोहण सम्बन्धमा बहराइनबाट भैरहेका पछिल्ला प्रयासबाट नेपाल र बहराइनबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार