गन्तव्य ब्रान्डिङ गर्दै पर्यटन बोर्ड

शनिबार, फागुन २९, २०७७

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्न शुरुआत गरेको छ । बोर्डले यसको शुरु गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यलाई पनि ब्रान्डिङ गर्दै लैजाने योजना बनाएको हो ।  गन्तव्यलाई सरल र स्पष्टरूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यकता महशूस गरी ब्रान्डिङको शुरुवात गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले जानकारी दिए ।  ‘कुनै पनि पर्यटकीय गन्तव्यको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ । ती विशेषतालाई समेट्दै ब्रान्डिङ गर्दा लुम्बिनीलाई आकर्षक गन्तव्य बनाइ राष्ट्रिय एवं अन्तरराष्ट्रियरूपमा चिनाउन थप बल सहयोग पुग्ने छ । हामीले यो प्रयास गरेका छौँ । विस्तारै अन्य गन्तव्यको पनि ब्रान्डिङ गर्दै लगिने छ’, उनले भने । लुम्बिनीको सबै पक्षलाई समेटेर पहिलो पटक ब्रान्डिङ गरिएको यसले अन्य गन्तव्यलाई पनि सोही अनुरूप विकास गर्न नयाँ सोच अगाडि आउने उनले बताए । 

कसरी गरिँदैछ ब्रान्डिङ 

जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन लुम्बिनीको ब्रान्डिङ गरिएको छ  ।  जसमा लुम्बिनीको प्राकृतिक सुन्दरतासहित ॐ माने पद्मे हुँको गुन्जायमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचिन सहर र बोधिवृक्षलाई ब्रान्डिङमा संयोजन गरिएको छ ।  यस्तै लुम्बिनीको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चरा प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्रान्डिङ’मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ ।  बोर्डका अनुसार ब्रान्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्न कलर प्रयोग गरिएको छ । ब्रान्डिङपछि त्यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला तथा श्रव्य दृष्यका सामग्रीबाट एउटैखाले सन्देश प्रवाह हुने छ । त्यस्तै कार्ड, पोस्टकार्ड, पोस्टर र ब्यानरका लागि ब्रान्डिङ गरिएको छ । कस्तो रङको लिपि र लोगो प्रयोग गर्ने भनेर पनि उल्लेख गरिनेछ । यहाँ हुने पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा त्यसलाई उपयुक्त हुने गरी ब्रान्डिङका प्रकार तयार गरिएको छ ।  नेपालले यस अद्धि नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाएर समग्र देशको ब्रान्डिङ गरेको थियो । नेपाल जस्तै थाइल्यान्डले एमाइजिङ थाइल्यान्ड, भारतले अतुल्य भारत, मलेसियाले मलेसिया इज टुुर्ली एसियाजस्ता थिमबाट आफ्नो देशको ब्रान्डिङ गर्दै आएइका थिए ।  यस पटक नेपालको पर्यटकीय गन्तव्यमध्ये एक लुम्बिनीलाई पनि अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन रङ, नाम, लोगोमा ब्रान्डिङ गरिएको र यसले लुम्बिनीको महत्व प्रचारलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उजागर गर्न थप मद्दत पुग्ने  लुम्बिनी प्रदेश आन्तरिक पर्यटन पुनरोत्थान समिति संयोजक सागर अधिकारीले बताए ।  बोर्डका अनुसार काठमाडौँको आर्ट एन्ड डिजाइन कम्पनी कप्र्स एन्ड कलर्सले बुद्धस्थल लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम पुगेर अध्ययन अनुसन्धान गरी त्यहाँको अवस्था, सुन्दरता, पुरातात्विक एवं ऐतिहासिक वैभवलाई सिर्जनामार्फत उतारेर तयार पारेको ब्रान्डिङलाई बोर्डले त्यसक्षेत्रका सरोकारवालासँगको समन्वय र सहकार्यमा सार्वजनिक गरेको हो ।  बोर्डले कीर्तिपुर र  पोखराको पनि ब्रान्डिङको काम गरिरहको छ । लुम्बिनी नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।  यहाँ वार्षिक  १६ लाखभन्दा बढी स्वदेशी, करिब दुई लाख तेस्रो मुलक र करिब दुई लाख भारतीय पर्यटक आउने गर्दछन् ।–रासस
 

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  ०६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार