पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न आदेश

सुनको जलहरीमा राष्ट्रपतिद्वारा प्राणप्रतिष्ठा पूजा
बुधबार, फागुन १२, २०७७

काठमाडौं । सर्वाेच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न आज अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा आजै पूजाआरधाना गरी १०८ किलोको सुनको जलहरी अनावरण गरेकी थिइन् ।  आदेशमा भनिएको छ, ‘पशुपतिनाथ मन्दिरको महत्व, संवेदनशीलता र प्राचीन स्मारक संरक्षण ऐन २०१३ को कानूनी व्यवस्थाको सन्दर्भमा सुविधा सन्तुलनको दृष्टिकोणबाट छलफलको टुङ्गो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु÷नगराउनु ।’
पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष, पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्, गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई  छुट्टाछुट्टै दुई रिट निवेदन दायर गरेका थिए । 

सुनको जलहरीमा राष्ट्रपतिद्वारा प्राणप्रतिष्ठा पूजा
पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गरेकी हुन् ।  प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका स्थापना गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए । ज्योतिर्लिङ्ग भएका स्थानमा पशुपतिनाथका पुजारीबाहेक अरुले छुन नपाउने विधि छ ।  विसं १८३८ मा रणबहादुर शाहका पालामा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको पीठिका जीर्ण भएपछि २०२४ साल माघ शुक्ल पञ्चमीकै दिन मर्मत गरिएको अभिलेख पशुपतिमा रहेको पनि उनले जानकारी दिए । विसं २०२४ मा चाँदीको पीठिकामा गरिएको मर्मत फेरि जीर्ण भएपछि सुनको पीठिका निर्माण गरिएको कोषले जनाएको छ । सुनको पीठिका स्थापना गर्नुअघि गत शनिबारदेखि पशुपतिनाथ मूल मन्दिरमा १२५ ब्राह्मणले क्षमा पूजा गरेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । पूजा गर्न २५  ब्राह्मण दक्षिण भारतबाट ल्याइएको थियो । सो अवसरमा रुद्राभिषेक, चार वेद र शिवपुराण पाठपारायण एवं वास्तु र तन्त्र विधिबाट समेत पूजा आराधना गरिएको पनि उनले बताए ।  प्राणप्रतिष्ठापछि राष्ट्रपति भण्डारीले राष्ट्रको शान्ति र अमनचयनका लागि संकल्प प्रार्थना गरेकी थिइन् । राष्ट्रपतिका सञ्चार तथा सूचनाविज्ञ टीका ढकालका अनुसार उक्त पूजाआजा करीब ४५ मिनेट चलेको थियो । 
पीठिकापछि पशुपतिनाथस्थित मूल मन्दिरको छाना र बसाहामा समेत सुनको लेप लगाउन लागत स्टिमेटको काम भइरहेको छ । यसका लागि २० किलोसम्म सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पशुपतिमा सुनको पीठिका निर्माण, छाना र बसाहामा सुनको लेपन एवं चाँदीको काम गर्न करीब रु एक अर्ब लाग्ने कोषको प्रारम्भिक अनुमान छ । यसका लागि सरकारले संस्कृति मन्त्रालयका तर्फबाट ३० करोड रुपैयाँ सहयोग गरेको थियो । अरु स्रोत कोषले नै जुटाएको हो । यसैगरी पशुपतिका चार ढोकामा रहेको चाँदीसमेत मर्मत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरका चार ढोका र वरिपरि चाँदीको लेप लगाइएको छ । यसका लागि हाल लागत अनुमानको काम भइरहेकाले लगत्तै छाना र बसाहामा सुनको लेप एवं चाँदीको काम शुरु गरिने कोषले जनाएको छ । महाशिवरात्रिअघि नै पशुपतिनाथ मन्दिरलाई नयाँ स्वरुपमा परिणत गर्ने कोषको तयारी छ । यस वर्ष यही फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको जनाउँदै कोषका पूर्वकोषाध्यक्षसमेत रहेका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले सोमबार सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । कोषले भने सम्पदा मास्ने गरी ऐन विपरीत काम नभएको जिकिर गरेको छ ।–रासस
 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार