सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । साउन महिना नेपाली समाजमा हरियाली, व्रत–पूजा र हरियो तरकारीसँग जोडिने महिना मानिन्छ । तर यही महिनामा भने काठमाडौंको लगनखेल तरकारी बजारका व्यापारीहरू व्यापारमा मन्दी आउँदा चिन्तित छन् । तरकारीको मूल्य बढेको, उपभोक्ताको खरिद क्षमता घटेको र धेरैले आफ्नै कौसी तथा करेसाबारीमा उत्पादन भएको तरकारी प्रयोग गर्न थालेपछि बजारमा ग्राहकको चहलपहल भएपनि किनमेल भने न्यून भएको व्यापारीहरू बताउँछन् । लगनखेलमा बिहानैदेखि विभिन्न जिल्लाबाट ल्याइएका ताजा तरकारी सजाइए पनि धेरैजसो साँझसम्म बिक्री नहुँदा व्यापारीहरू घाटा बेहोर्न बाध्य छन् । ताजा तरकारी अर्को दिनसम्म राख्न नमिल्ने भएकाले अन्तिम समयमा सस्तो मूल्यमा बेच्नुपर्ने वा बिग्रिने जोखिम उठाउनुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ । रामेछापकी अन्जु मगर लामो समयदेखि लगनखेलमा तरकारी व्यापार गर्दै आएकी छन्। उनका अनुसार साउन महिनाभर व्यापार अत्यन्तै सुस्त हुने गरेको छ । उनले भनिन्, ‘अहिले साउन महिनाभर व्यापार नै छैन । साँझसम्म सामान उठाउनै गाह्रो हुन्छ । आज सात सय रुपैयाँमा आएको सामान भोलि आठ सय पनि हुन सक्छ, कहिले घट्ने कहिले बढ्ने ठेगान हुँदैन । त्यही भएर घाटा धेरै छ ।’ उनका अनुसार बिहान चार बजेदेखि उठेर तरकारी ल्याउने, सफा गर्ने र आठ बजेसम्म बिक्री गर्ने दिनचर्या भएपनि सबै सामान बिक्री हुँदैन । नगरपालिकाले सडक खाली गराउन आएपछि बाँकी तरकारी उठाएर लैजानुपर्ने बाध्यता छ । ‘सामान राखेर हुँदैन, बेच्नैपर्छ । आज बाँकी रह्यो भने भोलि बिग्रिन्छ । अहिले धेरैको आफ्नै कौसी र करेसाबारीमा तरकारी फल्ने भएकाले बजारबाट कम किन्छन्,’ उनले भनिन । अन्जुले गोलभेँडा, भेन्डी, परवल, घिरौँला, अदुवा, लसुनलगायतका तरकारी बिक्री गर्दै आएकी छन्। उनका अनुसार लगनखेलमा गोटीखेल, गोदावरी, हर्षे, कालीमाटीलगायत विभिन्न क्षेत्रबाट तरकारी आउने गरेको छ ।यस्तै, भारत घर भएका अर्का व्यापारी दशैकुमार पनि अहिलेको व्यापारबाट सन्तुष्ट छैनन् । उनका अनुसार बजारमा व्यापारीको संख्या बढे पनि ग्राहक घटेका छन् । उनले भने, ‘पहिलाजस्तो व्यापार हुँदैन । बिहान र बेलुकाको समयमा मात्रै केही बिक्री हुन्छ । बाँकी सामान कटाउन सस्तोमै बेच्नुपर्छ ।’ दशैकुमारका अनुसार तरकारीको थोक मूल्य दिनहुँ परिवर्तन भइरहन्छ । ‘बजारमा आज १२० रुपैयाँ पर्ने तरकारी भोलि १३० पुग्न सक्छ । कहिले १०–१५ रुपैयाँ घट्छ, कहिले बढ्छ । तर ग्राहकले भने हिजोको मूल्य खोज्छन् । हामीले प्रतिकिलो १०–१५ रुपैयाँ नाफा राखेर बेच्नुपर्ने हुन्छ,’ उनले भने । उनका अनुसार प्रत्येक दिन तरकारी ल्याउन मात्रै गाडीभाडामा करिब ३०० रुपैयाँ खर्च हुन्छ । बिहान तीन बजे उठेर तरकारी ल्याउने, दिनभरि गाडा गुडाएर बिक्री गर्ने र राति नौ बजेसम्म सडकमा बस्दा पनि कहिलेकाहीँ लगानीसमेत उठ्न मुस्किल हुने गरेको छ । ‘दशवटा सामान ल्यायो भने सात आठ हजार रुपैयाँ लगानी लाग्छ । सबै सामान एकै दिन बिक्री हुँदैन । दुई दिनसम्म राख्नुपर्छ । बिग्रिए पनि फाल्न सकिँदैन, सस्तोमै बेच्नुपर्छ। दिनभरि दुःख गरेर ल्याएको सामान फाल्न मन लाग्दैन,’ उनले सुनाए । कुमारका अनुसार अहिले पसलमा गोलभेँडालगायत तरकारी प्रतिकिलो १३०–१४० रुपैयाँसम्म बिक्री भइरहेको छ भने ठेलागाडामा १००–११० रुपैयाँमै बिक्री गर्नुपरेको छ । व्यापारीहरूका अनुसार मूल्यवृद्धि, बढ्दो प्रतिस्पर्धा, आफ्नै घरमा उत्पादन हुने मौसमी तरकारी र उपभोक्ताको घट्दो खरिदका कारण साउन महिना उनीहरूका लागि सबैभन्दा चुनौतीपूर्ण समय बनेको छ । हरियालीको प्रतीक मानिने यही महिनामा हरियो तरकारी प्रशस्त देखिए पनि बजार भने सुनसान छ, जसको प्रत्यक्ष असर साना तरकारी व्यवसायीको दैनिक जीविकोपार्जनमा परेको छ ।