सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पाकिस्तानको ‘ब्रोड पिक’ हिमपहिरोमा ज्यान गुमाउने आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड पिक’ मा विश्व कीर्तिमान धारी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोहीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’ आरोहणका क्रममा ६ जना नेपाली र ४ जना विदेशी गरी १० जना आरोहीको निधन भएको हो ।
प्रधानमन्त्रीले समाजिक सञ्जालमार्फत भनेका छन्, आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् । विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ । निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।