पौडेल निवासमा देउवाको ४५ मिनेट वार्ता, देउवाले भने, 'मलाई सहयोग गर्नुहोस्'

आइतबार, मंसिर २६, २०७८

काठमाडौं, २६ मंसिर  : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग मागेका छन् ।

शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुगेका देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई आग्रह गरेका हुन् । 

‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले न्युज कारखानासँग भने, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’

उनका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गरेका थिए । 

शनिबार १४औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएको विज्ञप्ति जारी गरेर जानकारी दिएका नेता पौडेलले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताएका थिए । 

कांग्रेसको आफ्नो सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनमा सभापतिको दौडबाट आफू बाहिरिएको पौडेलले बताएका थिए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ०९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार