चिनियाँ राष्ट्रपतिले नेपाललाई पठाए शोक सन्देश

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई हालै नेपालमा भएको पहिरो विपद्प्रति शोक सन्देश पठाएका छन् । आफ्नो सन्देशमा सीले चीन र नेपालबीचको केरुङ–रसुवा सीमा नाकामा हालै गएको भीषण पहिरोमा ठूलो मानवीय क्षति हुनुका साथै मानिसहरू बेपत्ता भएको र सम्पत्तिमा क्षति पुगेको उल्लेख गरेका छन् । चिनियाँ सरकार र जनताका तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना तथा शोकसन्तप्त परिवार, घाइते र विपद् प्रभावित क्षेत्रका मानिसहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेका छन् । सीले चीनले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार, प्रभावित मानिसहरूको स्थानान्तरण तथा पुनःस्थापना, घाइतेहरूको तत्काल उपचार, मानवीय क्षति न्यूनीकरण र थप विपद् हुन नदिन हरसम्भव प्रयास गरिरहेको बताएका छन् । चीन र नेपाल हिमाल र नदीद्वारा जोडिएका तथा साझा भविष्य भएका मुलुक रहेको उल्लेख गर्दै सीले नेपालका उद्धार प्रयासमा सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमताले भ्याएसम्म आवश्यक सहयोग तथा समर्थन उपलब्ध गराउन चीन तयार रहेको बताएका छन् । दुवै देशका जनताले मिलेर विपद्लाई पार गर्दै यथाशीघ्र आफ्नो घर पुनर्निर्माण गर्न सक्ने विश्वास पनि सीले व्यक्त गरेका छन् । सोही दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई शोक सन्देश पठाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार