आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् । बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार गरी काठमाडौं ल्याएका घाइते तथा शवको विवरण खोज्दै परिवारजन विभिन्न अस्पताल पुगिरहेका हुन् । तर, धेरै परिवारले आफ्ना आफन्तको अवस्थाबारे अझै कुनै जानकारी पाउन सकेका छैनन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ महाराजगञ्जमा पनि सम्पर्कविहीन आफन्तको खोजीमा पुगेका परिवारजनको भीड देखिन्छ । अस्पतालले सार्वजनिक गरेको घाइते तथा उद्धार गरिएका व्यक्तिको नामावलीमा आफन्तको नाम खोज्दै उनीहरू झिनो आशामा बसिरहेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी–२ का ३२ वर्षीय श्याम लामिछाने रसुवामा ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका थिए । गत भदौ १० गते बिहान बहिनीलाई फोन गरेपछि उनको मोबाइल बन्द भएको र त्यसयता सम्पर्क हुन नसकेको उनकी दिदी दुर्गा लामिछानेले बताइन् । ‘भाइको नाम श्याम लामिछाने, ३२ वर्ष । अहिले ट्रेकिङ गाइडको लागि रसुवा गएको तीन महिना भयो । अस्ति १० गते बिहान ८ बजेर ३८ मिनेटमा बहिनीलाई फोन गर्नुभएको रहेछ । बहिनीले फोन उठाउन पाएनछ । ५–६ मिनेटपछि फोन गर्दा मोबाइल अफ आयो । त्यसपछि अहिलेसम्म सम्पर्कमा आएको छैन,’ उनले भनिन् ।  श्यामसँगै काम गर्ने अन्य व्यक्तिहरू पनि सम्पर्कमा नआएको दुर्गाले बताइन् । परिवारले ट्रमा सेन्टर, वीर अस्पताललगायत विभिन्न अस्पतालमा खोजी गरिसकेको भएपनि अहिलेसम्म कुनै जानकारी पाउन सकेको छैन । ‘भर्खरै हामी ट्रमा र वीर अस्पताल पनि गयौँ । त्यहाँ पनि नाम छैन । यहाँ पनि हेरिसक्यौँ, यहाँ पनि छैन । अहिलेसम्म केही पत्ता लागेको छैन । उद्धार गर्नेहरूमा पनि हेरिरहेका छौँ । आफूले बुझेजति, जानेजति ठाउँमा खोजिरहेका छौँ, सम्पर्क गरिरहेका छौँ,’ उनले भनिन् । आफ्नो भाइको अवस्था थाहा पाउन नसकेपछि दुर्गाले सबैसँग खोजीमा सहयोग गरिदिन अपिल गरेकी छन् । ‘कहीँ कतै देख्नु–भेट्नुभयो भने सम्पर्क गरेर भनिदिनुहोला । सास वा लास भए पनि भेटाउनुभयो भने फोन गरेर भनिदिनुहोला । बुढाबुढी बा–आमा हुनुहुन्छ, साना दुईवटा बच्चाहरू छन् । कसैले देख्नु–भेट्नुभयो भने सम्पर्क गरिदिनुहोला, खोजिदिनुहोला,’ उनले भनिन् ।  यस्तै, रसुवाको अपर हाइड्रोपावरमा कार्यरत गुञ्जबहादुर श्रेष्ठ पनि बाढीपछि सम्पर्कविहीन छन् । ड्युटीमा जानुअघि श्रीमतीसँग कुराकानी गरेपछि उनी सम्पर्कमा नआएको उनकी भाउजू पार्वती श्रेष्ठले बताइन् । उनले भनिन्, ‘ड्युटी जानुभन्दा अगाडि उहाँको मिसेससँग कुरा भएको रहेछ । त्यसपछि चाहिँ सम्पर्कविहीन नै हुनुभयो । हामीले कति खोजिसक्यौँ, कहीँ पनि नाम छैन । सुरक्षा निकायसँग कुरा गर्दा उद्धार गरिरहेका छौँ भनेर मात्रै भन्नुहुन्छ ।’ गुञ्जबहादुरसँगै काम गर्ने केही साथीहरू भने सम्पर्कमा आएको पार्वतीले बताइन् । ‘साथीहरू त प्रायः आउनुभइसकेको छ । कोही चाहिँ भाग्ने क्रममा सँगसँगै आएको भन्ने कुरा छ । तर सबैको नाम ठ्याक्कै थाहा छैन,’ उनले भनिन् ।  अस्पतालको प्राङ्गणमा भेटिएकी आस्था मगर पनि आफ्ना अंकल र भिनाजुको खोजीमा थिइन् । उनका अनुसार मिना आले मगर र नवराज मगर रसुवागढी हाइड्रोपावरमा काम गर्दै आएका थिए । उनीहरू टिमुरेबाट घट्टेखोलातर्फ रहेको र बाढीपछि सम्पर्कविहीन भएको आस्थाले बताइन् । अन्तिम पटक भिनाजु नवराजले दिदीलाई फोन गरेको र त्यसपछि दुवै जनाको कुनै जानकारी नआएको आस्थाले बताइन् । ‘लास्ट टाइम मंगलबार साढे ७ बजे दिदीलाई कल आएको थियो रे । त्यसपछि उहाँहरूको केही पनि कन्ट्याक्ट छैन । लास्ट लोकेसन पनि अहिलेसम्म थाहा छैन ।

photo-20_cf143430-1787933053.jpg
अस्पतालमा आएर नेमलिस्ट र फोटोहरू हेर्न भनिएको छ । तर उहाँहरूको नाम अहिलेसम्म लिस्टमा छैन,’ उनले भनिन् ।  रसुवाको टिमुरेबाटै २१ वर्षीय वीरबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन छन् । गाडी चालकका रूपमा काम गर्ने वीरबहादुर बाढी आउनुअघि चीनतर्फ जाने यात्रुलाई लिएर टिमुरे पुगेका थिए । उनकी आमाका अनुसार भदौ १० गते बिहान साढे ८ बजेसम्म दिदीसँग फोन सम्पर्कमा रहेका वीरबहादुर त्यसपछि सम्पर्कविहीन भएका हुन् । ‘मेरो छोरा वीरबहादुर श्रेष्ठ हो । २१ वर्षको भयो । गाडी लाइनमा काम गर्दथ्यो । त्यो दिन चीन जाने मान्छेलाई गाडी लिएर गएको रहेछ । पुलमा पुगेँ भनेर दिदीलाई फोन गरेको रे । त्यसपछि त्यहाँबाट सम्पर्क हुन सकेन,’ उनले भनिन् ।  परिवारले काठमाडौंका विभिन्न अस्पतालमा खोजी गरे पनि अहिलेसम्म वीरबहादुरको नाम घाइते तथा उद्धार गरिएका व्यक्तिको सूचीमा फेला परेको छैन । यसैबीच, रसुवा, नुवाकोट, गोरखा तथा धादिङमा भदौ १० गते आएको भीषण बाढीपहिरोमा परी घाइते भएका ४८ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ महाराजगञ्जमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको छ भने २१ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन् । हाल अस्पतालमा उपचाररत घाइतेमध्ये पेमा तामाङ र राजेन्द्र भट्टको अवस्था गम्भीर छ । उनीहरूलाई भेन्टिलेटरसहित आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । यस्तै अशोक श्रेष्ठ, बालबहादुर घर्ती, मिनबहादुर श्रेष्ठ, पवित्रा कार्की र महेश्वर शाहको पनि आईसीयूमा उपचार भइरहेको छ । अन्य घाइतेहरूको अवस्था हेरी अर्थोपेडिक, पेडियाट्रिक सर्जरी, अब्जर्भेसन तथा आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । तर, अस्पतालको सूचीमा नाम नभेटिएका आफ्ना आफन्तको खोजीमा रहेका परिवारजनका लागि भने प्रत्येक अस्पतालको ढोका र प्रत्येक नामावली आशाको अन्तिम आधार बनेको छ । भोटेकोशी बाढीमा सम्पर्कविहीन भएकाहरूको खोजी जारी रहँदा परिवारजनको एउटै प्रश्न छ– ‘हाम्रा आफन्त कहाँ छन् ?’

photo-17_d29f97bd-1787933056.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार