कांग्रेस महाधिवेशन : एक अध्यक्षसहित ३१ जनाले गरे उम्मेदवारी दर्ता

शनिबार, मंसिर २५, २०७८

काठमाडौं, २५ मंसिर  : नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा शनिबार २ बजेसम्म अध्यक्ष पदमा एक जनासहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन समितिका अनुसार शनिबार उम्मेदवारहरूले दिनभर मनोनयन दर्ता गर्न पाउनेछन् । अध्यक्ष पदमा कल्याण गुरुङले उम्मेदवारी गराएका छन् भने दुई उपसभापति र दुई महामन्त्रीका लागि हालसम्म कसैको उम्मेदवारी परेको छैन । 

आठ सहमहामन्त्रीका लागि भने हालसम्म मानबहादुर विक, बद्री पाण्डे र फरमुल्ला मन्सुरले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरुले क्रमशः दलित, पिछडिएको क्षेत्र र मुसलमान कलस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

खुलातर्फ ३५ केन्द्रीय सस्दयमा हालसम्म मदनबहादुर अमात्य, लक्ष्मणबहादुर बस्नेत, जिपछिङ लामा, तरुण दलका अध्यक्षसमेत रहेका जितजंग बस्नेत र रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 

दलित कलस्टरका नौ केन्द्रीय सदस्य पदमा सुजाता परियार, अमरबहादुर बराइली, मैकलाल बाल्मिकी र पवित्रा विश्वकर्माले उम्मेदवारी दर्ता गराइसकेका छन् । 

मधेशी कलस्टरबाट नौ पदमा सकलदेव सुतियार, अनितकुमार झा, अञ्जनीकुमार झा, अजय द्विवेदी र मिथिलेश मिश्रले उम्मेदवारी दर्ता गरेका छन् । 
सात प्रदेशबाट महिलासहित निर्वाचित हुने २१ जनाका लागि कर्णालीबाट जानकी शाह, कर्णबहादुर बुढा र दिनबन्धु श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । 

खसआर्य कोटाबाट ६ महिलासहित १३ जना निर्वाचित हुने सदस्य पदका लागि रामकृष्ण घिमिरे, खिलानाथ दाहाल, ईश्वरबहादुर मल्ल, कृष्णप्रसाद कोइराला, दिपेशप्रसाद भट्ट, अच्चुतप्रसाद गुरागाईं र जगतप्रसाद जोशीले उम्मेदवारी दर्ता गरेका छन् । 

अपांगता एक कोटाका लागि डेकराज भट्टराई, गोपालबहादुर देउवा र तिलप्रसाद सुब्बाको उम्मेदवारी परेको छ ।   

कुन पदमा कति शुल्क ?

शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने छ । 

कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार  शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । 

सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार