माओवादीको प्रदेश समितिमा नौ पदाधिकारी

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौँ, २४ मङ्सिर । नेकपा (माओवादी केन्द्र) ले प्रदेश समितिको पदाधिकारी र सदस्यको संख्या बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रदेश समितिको पदाधिकारी सङ्ख्या नौ बनाउने निर्णय गरेको हो । बैठकले प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय हुने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि प्रदेश समितिमा सात सदस्यीय पदाधिकारी रहने व्यवस्था थियो ।
प्रदेश समितिको संख्या बढाउने निर्णय पनि भएको उनले बताए । “यसअघि प्रदेश समिति न्यूनतम् १७५ सदस्यीय हुने व्यवस्था थियो, तर त्यति सङ्ख्याले मात्र नपुग्ने भएकाले प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर थप्ने निर्णय भएको छ”, उनले भने । १ नं प्रदेशमा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । पछिल्ला समय अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको भन्दै पार्टी प्रवेश गर्नेको सन्दर्भमा अध्ययन गर्न नेता देवप्रसाद गुरुङको संयोजकत्वमा नेता गिरिराजमणि पोखरेल र पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल सदस्य रहेको कार्यदल बनाइएको उनले बताए । 
“पार्टी प्रवेश गर्ने व्यक्तिले यसअघि कुन पार्टीमा कस्तो जिम्मेवारी सम्हाल्नुभएको हो, त्यसका बारेमा अध्ययन गर्ने र कस्तो राजनीतिक र साङ्गठनिक जिम्मेवारी दिने भन्ने विषयमा कार्यदलले अध्ययन गर्नेछ”, उनले भने । 
बैठकले पार्टीमा महिला प्रतिनिधित्व वृद्धि गर्न महिला विभाग गठन गर्ने निर्णय गरेको छ । विभागको प्रमुखमा पम्फा भुसाललाई तोकिएको छ । विभागलाई छिट्टै पूर्णता दिने निर्णय भएको उनले बताए । माओवादीले यसअघि विभिन्न ३४ वटा विभाग गठन गरिसकेको छ ।

माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुँदै   

कर्णाली नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा यही मङ्सिर २५–२६ गते ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुनेछ । सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश सचिव रामदीप आचार्यले जानकारी दिए ।

“सम्मेलनमा प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार १००को सहभागिता रहनेछ”, सचिव आचार्यले भने, “यसका लागि दशै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक राजधानी सुर्खेत झर्ने क्रम चलिरहेको छ ।” कर्णालीका ७९ तहमा चार पालिकाको अधिवेशन सम्पन्न हुन बाँकी रहेको उनले बताए । 
सचिव आचार्यका अनुसार सम्मेलन तयारीका लागि प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत स्वास्थ्य उपचार, आर्थिक व्यवस्थापन, प्रचारप्रसार तथा मञ्च व्यवस्थापन, मेस तथा आवास व्यवस्थापन, स्वयंसेवक परिचालन, कलाकार व्यवस्थापन, प्रतिवेदन तयारीलगायत गरेर आठवटा उपसमिति गठन गरिएको छ । केन्द्रको प्रदेश नेतृत्व चयनका लागि विधानतःनिर्वाचन तथा सहमति दुवै विधि अपनाइने उनले बताए ।    

आर्थिक अनुशासन कायम गरिने

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक नरेश भण्डारीले कर्णाली प्रदेशको प्रथम सम्मेलनमा आर्थिक अनुशासन कायम गरिने बताएका छन् । 
ऐतिहासिक प्रथम प्रदेश सम्मेलनलाई अन्य पार्टी जस्तो भड्किलो र फजुल खर्चयुक्त नबनाउने गरी कार्यक्रम थालिएको संयोजक भण्डारीले बताए । 
कार्यक्रमलाई प्रभावकारी र सुव्यवस्थित ढङ्गबाट सम्पन्न गर्ने गरी गठित समितिले क्षेत्रगत कार्य गरिरहेको संयोजक भण्डारीले जनाए । 
पार्टी नेता तथा कार्यकर्तालाई आर्थिक भार नहुने र सबैलाई सहज पहुँच पुग्ने गरी प्रथम प्रदेश सम्मेलन सम्पन्न गर्ने नेकपा माओवादी कर्णाली प्रदेश सङ्गठन समितिले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ०५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार