कांग्रेसको प्रदेश–२ निर्वाचन प्रक्रिया स्थगित

मंगलबार, मंसिर २१, २०७८

वीरगञ्ज , २१ मङ्सिर । नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । 
प्रदेश अधिवेशन तत्कालको लागि स्थगित भएको जनकपुरमा पत्रकार सम्मेलन पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका पार्टी प्रदेश– २ का प्रदेश महाधिवेशन आयोजक कमिटीका संयोजक रमेश रिजालले जानकारी दिए । प्रदेश–२ को अधिवेशन अब महाधिवेशनपछि गरिने रिजालले जानकारी दिए । 
प्रदेशका आठ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट पूरा प्रतिनिीधको नाम आउन नसकेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत प्रहलाद गौतमका अनुसार सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनौट हुन नसकेका बताउनुभयो । प्रदेश–२ को सबै जिल्लाका प्रतिनिधि छनौट भइसकेपछि यस  प्रदेशका लागि कूल मतदाता उक् हजार ८८८ रहने छन् ।   
निर्वाचन हुन बाँकी रहेका जिल्लाको प्रदेश अधिवेशनमार्फत छनौट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने निर्वाचन नभएका जिल्लाका नेता कार्यकर्ताको माग छ । “निर्वाचन तालिकाअनुसार गत मङ्सिर १८ गते प्रतिनिधिको नामावली सार्वजनिक  गर्नुपर्नेमा त्यो हुन सकेन, तीन जिल्लाका बाँकी प्रतिनिधिको आउन सकेको छैन, त्यसैले प्रदेश अधिवेशन स्थगित गरिएको पार्टीले जनाएको छ । 
यस अगावै प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रहेका रामसरोज यादव उम्मेदवारी घोषणा गरिसकेका छन् । 

कांग्रेस नेता आङदेम्बेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले यहाँ पत्रकार सम्मेलन गरी महाधिवेशनमा आदिवासी÷जनजाति क्लष्टरको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 
कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरअन्तर्गत आठजना सहमहामन्त्री रहने व्यवस्था छ । नेता आङ्देम्बेले पार्टीलाई वैचारिकरूपमा स्पष्ट, साङ्गठनिकरूपमा गतिशील र भावनात्मकरूपमा एकताबद्ध तथा अनुशासित र प्रशिक्षित कार्यकर्ताको ऊर्जाशील अभियानका रूपमा विकास गर्न आफूले उम्मेदवारी दिने बताए । 
साथै उनलेसमावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आवश्यक रहेकामा जोड दिए । उनले तीनै तहका आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन समस्त लोकतन्त्रवादीलाई एकताबद्ध पार्न राष्ट्रियरूपमा लोकतान्त्रिक पुनःजागरण अभियान सञ्चालन गर्नेलगायत विभिन्न १३ एजेन्डा अघि सारेका छन् ।  कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । 

कांग्रेसका नवनिर्वाचित प्रदेश सभापतिहरूलाई बधाई

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित प्रदेश सभापतिहरूलाई बधाई दिएका छन् । 
उनले विभिन्न छ प्रदेशका नवनिर्वाचित सभापतिलाई बधाई तथा शुभकामना दिएका हुन् । 
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हालै सम्पन्न प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमितिसहित सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णाली प्रदेश सभपातिमा ललितजङ्ग शाही, लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन, गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा, वाग्मती प्रदेश सभापतिमा इन्द्र बानियाँ र प्रदेश नं १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका थिए । 
कांगे्रसको प्रदेश नं २ को प्रदेश अधिवेशनको उद्घाटन भए पनि नेतृत्व चयनका लागि निर्वाचन हुन बाँकी छ ।
यसैगरी आजै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एक विज्ञप्तिमार्फत १४औँ महाधिवेशनअन्तर्गत हालै सम्पन्न प्रदेश अधिवेशनबाट सभापति, पदाधिकारी र सदस्यमा निर्वाचित सबैलाई बधाई दिएका छन् । साथै उनले कांग्रेसको रुपान्तरणमार्फत राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुनसमेत अनुरोध गरेका छन् । 


 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार