सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २० मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौँ आउने क्रम सुरु भएको छ । पार्टीको १३औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । जहाँनिया राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो । उक्त सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ । उक्त अधिवेशनले तत्कालीन अवस्थामा टङ्प्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो । पार्टी स्थापना भएको झण्डै आठ दशकपछि यही मङ्सिर २४ देखि २६ गतेसम्म १४औँ महाधिवेशन काठमाडौँमा हुँदैछ । नेपाली कांग्रेस बागलुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल महाधिवेशनमा भाग लिन आइतबार साँझ नै काठमाडौँ आइपुगेका छन् । पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न लागेका मन्त्री कँडेल कांग्रेसलाई सशक्त पार्टी बनाउनका लागि आफूले उम्मेद्वारी दिन लागेको बताए । “तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशको विकास गर्नका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको हुँ,” उनी भन्छन् । गोरखा कांग्रेसका पूर्व सभापति हरिबहादुर घले पनि महाधिवेशनमा भाग लिन शनिबार राति काठमाडौँ आइसकेका छन् । दुई कार्यकाल गोरखा कांग्रेसको कुशल नेतृत्व गरिसक्नुभएका घले १४औँ महाधिवेशनमा अल्पसङ्ख्यक कोटाबाट केन्द्रीय सदस्य बन्ने दाउमा छन् । घलले आजै गोरखा कांग्रेसका केन्द्रीय सदस्यको उपस्थितिमा उम्मेद्वारी घोषणा गर्ने कार्यक्रम तय भएको थियो । कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएसँगै चार दिनपछि सुरु केन्द्रीय महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बुकिङ गरिसकेको बताएको छ । मुलुक सङ्घीयतामा गएपछि कांग्रेसले पहिलोपटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित भएका छन् । यस्तै ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन समेत सम्पन्न भइसकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे भोलिसम्म सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने बताए । “हिजोसम्म विवाद रहेका सर्लाहीका चार र महोत्तरीको एक निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नेगरी निर्वाचन समितिले काम गरिरहेको छ”, उनले भने । कांग्रेसको महाधिवेशनमा चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने संयोजक घिमिरेले जानकारी दिए ।
कांग्रेसको प्रदेश अधिवेशन र लोकसेवाको परीक्षाले पोखराका पर्यटन व्यवसायीलाई राहत
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशन र लोकसेवा आयोगका विभिन्न परीक्षाका कारण पछिल्लो हप्ता पोखराको पर्यटनमा राहत मिलेको छ । कोरोना कहरका कारण प्रभावित भइरहेको पोखराको पर्यटनलाई आन्तरिक पर्यटनले केही मात्रामा भए पनि भरथेग गरिरहेको अवस्थामा कांग्रेसको प्रदेश अधिवेशनमा आएका एघार सय भन्दा बढी प्रतिनिधिसँगै पर्यवेक्षक तथा कांग्रेसी कार्यकर्ता र लोकसेवाका विभिन्न पदका लागि परीक्षा दिन आएका परीक्षर्थीका कारण पछिल्लो हप्ता पोखराका होटेल भरिएका थिए । कांग्रेसको अधिवेशनमा एघार सय प्रतिनिधिका लागि लेकसाइडका होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो । प्रतिनिधिसँगै सङ्घीय संरचनाअनुसार पहिलो पटक भएको अधिवेशन हेर्न ठूलै सङ्ख्यामा जिल्ला–जिल्लाबाट आएका पर्यवेक्षक एवं कार्यकर्ताले पोखरा भरिएको थियो । कांग्रेस अधिवेशन र लोकसेवाको परीक्षाले यहाँका होटेल व्यवसायीलाई ठूलै राहत पुगेको पश्चिमाञ्चल होटेल सङ्घ(हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार अधिवेशन र परीक्षाका कारण पछिल्लो हप्ता साना तथा मझौला होटेलको क्षमताको ७० देखि ८० प्रतिशतसम्म भरिएका थिए । ठूला होटेलमा भने सोही अनुपातमा पर्यटक नभरिए पनि केही न केही राहत भने पुगेको उनले जानकारी दिए । पोखरा पर्यटकीयस्थल हुनुका साथै गण्डकी प्रदेशको राजधानी भएका कारण राष्ट्रिय एवं प्रदेशस्तरका कार्यक्रमले यहाँको होटेल व्यवसायमा समय–समयमा सहयोग पुग्ने गरेको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले बताए ।