सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १९ मङ्सिर । नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए। “सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन क्षेत्र नं ४ मा आज निर्वाचन हुँदैछ”, उनले भने । महोत्तरी क्षेत्र नं ४ को अधिवेशन सम्पन्न भइसकेको तर निर्वाचनको नतिजाका क्रममा केही विवाद रहेकाले त्यहाँको निर्णय गर्न बाँकी रहेको उनको भनाइ थियो । कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । यस्तै सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको र केही प्रदेशको नतिजासमेत आइसकेको उनले जानकारी दिए । प्रदेश नं २ बाहेक सबै प्रदेशको अधिवेशन प्रारम्भ भइसकेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पदाधिकारीको नतिजा आइसकेको छ भने प्रदेश नं १ र लुम्बिनी प्रदेशको मतगणना भइरहेको र बागमती प्रदेशको सभापति पदमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत नकटाएकाले पुनः मतदान भएको निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।
सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी कैलाली, १९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेसनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् । पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी भएका हुन् । उनले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे । अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी ६१० मत र लोकराज अवस्थी ५२३ मतसहित विजयी भएका छन् । महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ मत र मेघराज खड्का ६३५ मतसहित विजयी भए । यस्तै सहमहामन्त्रीमा गोपालदत्त भट्ट ५२९ मत, चिन्तामणि भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भए ।