कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

आइतबार, मंसिर १९, २०७८

वीरगञ्ज, १९ मङ्सिर । नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । 
प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।
मतदाता नामावली प्रकाशन हुन नसक्दा अन्य निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले जानकारी दिनुभयो । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।  
प्रदेश २ को सबै जिल्लाका प्रतिनिधि छनोट भएपछि कूल मतदाता एक हजार ८८८ पुग्ने छन् । निर्वाचन हुन बाँकी रहेका जिल्लाको प्रदेश अधिवेशनमार्फत छनोट हुने प्रतिनिधिको नामवली  समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने निर्वाचन नभएका जिल्लाका नेता कार्यकर्ताको माग छ  । 
जनकपुरधाममा रामजानकी विवाहमहोत्सव प्रारम्भ भइसकेको र पार्टीको महाधिवेशनको मूलसमारोह आगामी २२ मंसिरमा रहेकाले प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि नै धकेलिने अनुमान गरिएको छ । निर्वाचन प्रक्रिया अन्योलमा परेपछि आज पार्टी उपसभापति बिमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेता जनकपुरमा छलफलमा गरिरहेका छन् । 
छलफलपछि औपचारिक रुपमा निर्वाचन प्रक्रियाबारे  सूचना जारी गर्ने निर्वाचन अधिकृत गौतमले जानकारी  दिए । यस अगावै प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन् । 

वाग्मतीमा बानियाँलाई प्रधानको समर्थन 
शनिबार सम्पन्न नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरे पनि आवश्यक ५१ प्रतिशत मत नपुगेका कारण दोस्रो चरणको मतदान भएको छ । 
पहिलो चरण्को निर्वाचनमा सभापपिति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाए । अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेका थिए । 
मतदानमा दुई हजार ८३ जना मतदाताले भाग लिएका  थिए । १० मत बदर भएको थियो । १२ जनाले सभापतिका कुनै उम्मदेवारलाई पनि मत दिएनन् । 
नेपाली कांग्रेसको विधान बमोजिम विजयी हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेकाले आज पुनः मतदान भएको छ । यसैबीच, सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गरेका छन् । हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रधानले बानियाँलाई समर्थन गर्ने बताएका हुन्। घोषणाअनुरुप आफू र आफ्ना सबै समर्थकले बानियाँलाई मतदान गर्ने प्रधानले विश्वास व्यक्त गरेका नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार