राष्ट्रिय राजनीतिमा नेतृत्व जन्माउँदै झापा 

आइतबार, मंसिर १९, २०७८

झापा, १९ मंसिर  राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा झापाका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। लामो समयदेखि राप्रपाको राजनीतिमा रहेका लिङ्देन झापा हल्दिबारीका हुन् । लिङ्देनको विजयसँगै झापा नेपाली राजनीतिमा फेरि एकपटक चर्चामा आएको छ । 

केही समयअघि नेपालकै ठूलो राजनीतिक दल नेकपा एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि झापाका केपी शर्मा ओली निर्वाचित भएका थिए । लिङ्देनको विजयसँगै राष्ट्रिय राजनीतिमा झापाले फेरि नयाँ नेतृत्व जन्माएको छ । एमाले र राप्रपामा मात्र हैन कांग्रेसमा समेत प्रभावशाली नेता झापामा छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौला भद्रपुरका हुन् भने विश्वप्रकाश शर्मा मेचीनगरबासी हुन् । 

लिङ्देन पार्टीमा मात्र हैन संसदीय निर्वाचनमा पनि सफल  छन् । पार्टी सबैतिर हारेर एक सिटमा खुम्चिँदा लिङ्देनले कांग्रेसका प्रभावशाली नेता सिटौलालाई हराएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । त्यति मात्र हैन राप्रपा देशभर खुम्चिँदा झापामा भने सुधारिएको छ । १५ पालिकामध्ये कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाले जितेको छ । याे लिङ्देनकै मिहिनेत हो । 

पार्टीलाई पुरानै लयमा फर्काउनमा आफूले नेतृत्व लिएको बताउँदै आएका छन्, लिङ्देन । विगतमा कमल थापा निकट भएर काम गरेका लिङ्देनले यसपटक भने थापाविरुद्ध नै अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । उनले यो विद्रोह नभई बाध्यात्मक अवस्था भएको बताउँदै आएका थिए । 

हिन्दू धर्मको वकालत गर्ने पार्टीका अध्यक्ष लिङ्देन भने किराँत धर्म मान्छन् । ‘हामी धर्मको महलमा किराँत लेख्छौँ,’ राजेन्द्रका भाइ तथा राप्रपा झापा क्षेत्र नम्बर ३ ‘ख’ अध्यक्ष रविन्द्र भन्छन्, ‘राप्रपाले दिएको विषय व्यक्ति र जाति विशेष हैन । पहिचानको कुरा हो । हामीलाई दोधार र अप्ठेरो हुँदैन । मेचीदेखि महाकालीका समग्र नेपालीलाई जोड्ने सनातन हिन्दू धर्म हो ।’

हल्दिबारी गाउँपालिका अध्यक्षसमते रहेका रविन्द्रले दाइको जीतसँगै राप्रपामा पुस्तान्तरण आवश्यकतालाई पुष्टि गरेको बताए । ‘राप्रपामा लामो समयदेखि नेतृत्व परिवर्तनको कुरा आइरहेको थियो । वास्तविक रूपमा नयाँ नेतृत्वको आवश्यकता रहेछ भन्ने प्रमाणित गरेको छ,’ उनले भने, ‘राप्रपाको एजेन्डा सनातन हिन्दू धर्म र संवैधानिक राजसंस्थालाई स्थापित गराउन यो विजयले सहजता मिलेको छ ।’ याे जीतले आउँदो चुनावसम्म देशव्यापी संगठन गर्न सहज हुने रविन्द्र बताउँछन् । राजेन्द्रले पार्टीलाई अघि बढाउन कमल थापासहितका पुराना नेतालाई पनि समेटेर लैजाने बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार