एकसट्ठी जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न

बिहीबार, मंसिर १६, २०७८

काठमाडौँ, १६ मङ्सिर । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बुधबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट औषतमा २६ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने र प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट औषतमा १८ जनाका दरले प्रदेश प्रतिनिधि चयन हुने पार्टी विधानको व्यवस्था छ । बुधबारसम्म सबै जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
कांग्रेसले यसअघि देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसले बिहीबारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ । जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन भने पार्टीको महाधिवेशन पछि मात्र हुने समितिले जनाएको छ ।

बिहीबारदेखि सुरु हुँदै प्रदेश अधिवेशन
समितिले मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका तय गरेको छ । मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ ।
मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । 

कांग्रेसको पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता
नेपाली कांग्रेसको ‘१४ औँ महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ले बुधबार पूर्णता पाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २८ गते सम्पन्न बैठकले १४औँ महाधिवेशन सम्पन्न गर्न सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा सो समिति गठन गरेको थियो ।
समितिमा पार्टीका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा डिला सङ्ग्रौला सदस्य रहनुभएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । 
यसैगरी समितिमा आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे र आनन्द (गोरख) विष्ट तथा सांसद दिव्यमणि राजभण्डारी, संविधान सभा सदस्य राजीवविक्रम शाह, डा प्रभु बुढाथोकी, डा पूर्वराजदूत दिनेश भट्टराई, सुशील नाहटा, दीपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया सदस्य रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार